तिलाचन पाण्डे
जेठ ८,२०७७ गुल्मी : गुल्मीका कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।
जिल्लाको मदाने गाउँपालिका वडा नं ६ पुर्कोदहका ४१ बर्षिय पुरुषको बुटबलको क्रिमसन अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान ७ बजेर १० मिनेट जाँदा मृत्यु भएको सामाजिक बिकास मन्त्रालयको स्वास्थ्य माहाशाखा प्रमुख डाक्टर उमाशंकर चौधरीले जानकारी दिए ।
अस्पतालमा जेठ एक गतेदेखि उपचार गराइरहेको उनको सोमबार प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको स्वाब परीक्षणमा उनमा कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।
उनमा बिगत लामो समयदेखि जन्डिस र निमोनियाको समस्या देखा परेको मदाने गाउँपालिकाका स्थानीयहरुले बताउँदै आएका छन् । उनको अबस्था गम्भिर भएपछि बिगत तीन दिनदेखि अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
उनमा कोरोना पुष्टि भएसंगै मंगलबार उनको परिवार र उनीसंग प्रत्यक्ष सम्पर्कमा आएका ३० जना ब्याक्तिहरुको स्वाब संकलन गरी परीक्षणका लागि प्रादेशिक प्रयोगशाला रुपन्देही पठाइएको छ ।
उनी लामो समयदेखि स्थानीय बिधालयमा शिक्षण पेशामा संलग्न थिए । यो संगै कोरोना संक्रमणका कारण नेपालमा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ ।