सागर भण्डारी,
जेठ ४,२०७७ गुल्मी : किसानले उत्पादन गरेका कृषि उपज विक्री वितरणका लागि मुसिकोट नगरपालिकाले समन्वय गरिदिने भएको छ ।
कोरोना भाईरसको महामारीका बीच कृषकहरुले उत्पादन गरेका कृषि सामाग्रीहरु विक्री वितरण नभएको भन्ने गुनासोेकाआइरहेको समयमा सस्तो मूल्यमा विक्री वितरण गर्न बाध्य भएको अवस्थामा किसानले सिधै वास्तविक मूल्य पाउनका लागि कृषकहरु र व्यापारीहरुको समन्वय गराई बजारका लागि पहल गर्ने मुसिकोट नगरपालिका कृषि शाखा प्रमुख जनक पौड्यालले जानकारी दिए ।
किसानले आफ्नो खेत बारीमा उत्पादन गरेको कृषि जन्य वस्तुहरु विक्री वितरण नभए नगरपालिकामा सम्पर्क गर्न पनि उनले आग्रह गरे । उत्पादित तरकारी, खाद्यान्न, मसला वाली, फलपूmल लगायतका अन्य कृषि उपजहरु खरिद विक्रीका निम्ति नगरपालिकाले आवश्यक समन्वय गरी खरिद विक्रीमा सहजीकरण गर्ने बताए।
नगरपालिका भित्रका किसानहरुलाई आर्थिक रुपमा सम्पन्न बनाउनका लागि किसानहरुलाई तालिम, कृषिका औजारहरु र अनुदानको समेत व्यवस्था गर्दै आएको उनको भनाई छ । किसानले उत्पादन गरेका तरकारीहरूलाई बजारको समस्या भयो र बजार पाइएन भनेर चिन्ता नलिन आग्रह गर्दै पौडेलले उत्पादन बढाउन र विक्री नभएको खण्डमा लागि नगरपालिकामा सम्पर्क गर्न आग्रह गरे ।
नगरपालिका भित्र रहेका कृषक, कृषक समुह, फार्म तथा सहकारीहरुले उत्पादन गरेका कृषि उपज तत्कालका लागि नगरपालिकाले नै सकंलन गरेर विक्री वितरण गर्नका लागि असहज भएपनि भावि दिनमा कृषि उपज सकंलन केन्द्र निर्माण गरेर सिधै कृषकहसगं रहेका कृषि उत्पादन खरिद गरि नगरपालिकाले नै विक्री वितरण गर्ने योजना रहेको छ ।
नगरपालिका आफैले वामीको पल्टारमा हाटबजार स्थल समेत निर्माण गर्दै गरेको पौडेलले जानकारी दिए । हाटबजार सञ्चालनमा आउनासाथ कृषकरुलाई अझै राहत हुने उनले दाबी गरे ।
कृषि उद्यमी बन्दै महिला
नगरपालिकामा व्यवसायिक कृषकहरुको संख्या कम रहेको भएपनि यस आर्थिक वर्षमा वडा नं ७ काफलटोलामा नमुना महिला उद्यमी समुहमा आवद्ध भएर २४ जना महिला कृषकहरुले व्यवसायिक कृषि सुरु गरेको छन् ।
साढे ६ लाख बजेटमा उक्त समुहमा रहेका २४ जना महिला कृषकहरुले सबैले घरघरमा टनेल निर्माण गरेको र सिँचाईका लागि थोपा सिँचाई र प्लाष्टिक पोखरी समेत निर्माण गरिएको बताईएको छ । त्यस्तै आवश्यक तालिम दिएर महिला कृषि उद्यमी विकास गरी आर्थिक वृद्धि गर्ने नगरपालिकाको योजना रहेको पौड्यालको भनाई छ ।