कोरनाको कहर : पर्यटन क्षेत्र धरापमा, व्यवसायीलाई ऋणको बोझ थपियो

0
639

सुशीला रेग्मी

जेठ १ २०७७ पाल्पा  : संघीयता कार्यान्वयनसँगै पाल्पामा पर्यटकीय विकासले गति लिएका अवस्थामा विश्वव्यापी फैलिएको कोरोना भाइरसको सङ्क्रमण यतिखेर ठूलै चुनौती बनेको छ । पर्यटन क्षेत्रमा आशा एवम् विश्वासका साथ पछिल्ला समयमा ठूला ठूला लगानी भित्रने क्रमले पनि गति लियो । कोरोना पूर्व पर्यटक लक्षित होटल, रेष्टुरेण्ट खुल्ने क्रम बढ्यो नै पर्यटकीय नगरी लुम्बिनी र पोखराको बीच भाग स्थित पाल्पा भएर बाह्य पर्यटकको आवतजावतले पनि यहाँको पर्यटनमा चहलपहल बढायो ।

हालसम्मको अवस्था हेर्दा लुम्बिनी र पोखरा आउने बाह्य पर्यटक पाल्पा घुमेर मात्र फर्कने गर्छन् । २०७२ सालमा आएको विनाशकारी भुकम्पको असर पछि पर्यटन पूर्वाधारका कार्यहरु जिल्लामा एकपछि अर्को हुदै अगाडी बढ्यो ।

भुकम्पको महामारी खेपेका जिल्लाका व्यवसायीले भुकम्प पश्चात पर्यटन क्षेत्रले गति लिएसँगै पर्यटकको आवागन बाक्लिदै जादा पर्यटन व्यवसायीमा एक किसिमको खुशी तथा हौसला थपियो ।

तर व्यवसायमा बामे सर्दै गरेका पाल्पाका पर्यटन व्यवसायी भने अहिले विश्व नै आतङ्क मच्चाउने कोरना भाइरस सङ्क्रमण (कोभिड—१९) को मारमा परेका छन् । ठूलो लगानीमा पर्यटकलाई लक्षित गरी व्यापार व्यवसाय सञ्चालन गरेका पर्यटन व्यवसायलाई कोरनाको कहरले नराम्रो सँग असर पु¥याएको छ ।

कोरोनाका कारण व्यसाय नै ठप्प भएपछि होटल रेष्टुरेण्ट, घरबास (होमस्टे) मा गरिएका लगानी यतीखेर निल्नु न ओकल्नुको अवस्थामा छ ।

पाल्पा जिल्लामा होटल व्यवसायी संघमा एक हजार ६० होटल तथा रेष्टुरेण्ट संचालनमा छन् । तीमध्ये पर्यटन व्यवसायलाई लक्षित गरेर एक सयको हाराहारीमा होटल तथा रेष्टुरेण्ट रहेका छन् । पर्यटकका लागि खोलिएका व्यवसायमा रु दुई करोड देखि ५० करोड सम्मको लगानी परेको होटल व्यवसायी महासंघ पाल्पाका अध्यक्ष मोहन श्रेष्ठ बताउछन् ।

“कोरनाको कहरले समग्र पाल्पाको पर्यटन व्यवसाय नै धरापमा परेको छ, पर्यटन क्षेत्रमा भबिष्य खोजेका र वैदेशिक रोजगारबाट स्वदेश फर्केका युवाहरुमा अहिलेको विश्व परिवेशले गर्दा व्यवसायबाटै पलायन हुने हो कि भन्ने स्थिती सिर्जना भएको छ” – अध्यक्ष श्रेष्ठले भने ।

उनका अनुसार यहाँ होटल तथा रेष्टुरेण्ट क्षेत्रमा घरपरिवारका सदस्य बाहेक करिव तीन हजार पाँच सय नागरिकले प्रत्यक्ष रोजगार पाएका छन् । यिनीहरुलाई काम गर्ने वातावरण नहुदा साँभm बिहान गुजारा चलाउन अप्ठ्यारो छ ।

लगानी गर्ने वातावरण नेपालमा नहुदा हुदै पनि बाहिरबाट आएका युवा पछिल्लो समय पर्यटन क्षेत्रमा लगानी गर्न कस्सिएका छन् । व्यवसायमा बामे सर्दै गरेको अवस्थामा लामो समय सम्म ढोका नै लगाएर व्यवसाय बन्द गरेर बस्नुपर्दा ऋणको बोझ थपिएको रामपुरका पर्यटन व्यवसायी शिव पाण्डेय बताउछन् ।

उहाँले साढे दुई करोडको लागतमा पर्यटनलाई लक्षित गरेर पौडी पोखरी सहितको नमस्ते होटल तथा रेष्टुरेण्ट एवम् पार्टी प्यालेस नेपाल भ्रमण वर्ष २०२० को सुरुवातमा सञ्चालनमा ल्याउनुभएको छ । सुरुवातीको क्रममा नै व्यवसायमा साँचो लगाउनुपर्ने अवस्थामा आउँदा समस्या परेको उनको गुनासो छ ।

उनका अनुसार, —“रामपुरमा भित्रिएका पर्यटकलाई लक्षित गरेर व्यवसाय सुरु गरियो, प्रारम्भिक चरणमा नै व्यवसायमा नराम्रो संग मार परेको छ, लगानी ठुलो छ तर व्यापार व्यवसाय ठप्प छ, लगानी गरेको ऋण र ब्याजले डुबाउने हो कि के हो पिरलो परिरहेको छ” ।

कोरना भाइरस सङ्क्रमणको त्रास सुरु भएदेखि व्यापारमा शुन्यता छाएको अर्का व्यवसायी होटल न्यु श्रीनगरका सञ्चालक महेश श्रेष्ठ बताउँछन् । होटल श्रीनगर यहाँको पर्यटन क्षेत्रलाई मध्यनजर राखेर संचालनमा आएको रामपुरको पहिलो होटलका रुपमा लिइन्छ ।

“ग्राहकको उपस्थितीले काममा भ्याईनभ्याई हुन्थ्यो, अहिले बिगत दुई महिना यता भने व्यवसाय चौपट बनेको छ, बैंकबाट लिएको ऋण बुझाउन र कामदार पाल्न अप्ठ्यारो परेको छ” श्रेष्ठले गुनासो गरे । उनको व्यवसायमा करिव साढे तीन करोड भन्दा बढीको लगानी परेको छ ।

पाण्डेय र श्रेष्ठ जस्ता पर्यटन व्यवसायलाई लक्षित गरेर व्यवसाय चलाएका एक सय व्यवसायीहरु कोरना भाइरस सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीको बढी मारमा छन् ।

पर्यटकलाई लक्षित गरी करोडौँ रकम खर्च गरेर स्तरिय खालका होटल, रेष्टुरेण्ट खुल्ने क्रम पाल्पामा बढ्दो छ । जिल्लामा पछिल्लो पाँच वर्ष यता पर्यटन क्षेत्रमा ठुलो लगानी थपिएको छ ।

जिल्ला सदरमुकाम तानसेन बजारमा पर्यटकको बाक्लो उपस्थितिले होटल रेस्टुँरा भरिभराउ हुन्थे । बिगत दुई महिनायता भने व्यापार व्यवसाय ठप्प हुदा पर्यटन सम्बद्ध व्यवसायीलाई कोरनाको कहरले नराम्रोसँग गाँजेको छ ।

पर्यटक लक्षित खोलिएका घरबास (होमस्टे) पनि सुनासान छ । बाह्य पर्यटक जिल्लामा भित्रिने क्रम बढ्न थालेपछि घरबासहरु खोल्ने क्रम यहाँ होडबाजी नै चलेको छ । होमस्टे व्यवसायी संघ पाल्पामा यहाँ सामूदायिक र निजि गरी १४ घरबास दर्ता भई संचालनमा छन् ।

सामुदायिकमा तानसेन नगरपालिका १३ स्थित बौघागुम्बा, तानसेनकै दमकडा स्थित सामुदायिक कृषि महिला, तिनाउ गाउँपालिका भित्र सुकेताल, जन्तीलुङ्गमा रहेको लगाढ गरी पाँच सामूदायिक घरबास छन् ।

निजीतर्फ सदरमुकाम तानसेन बजार भित्र नौ वटा घरबास सञ्चालनमा छन् । यी सबै घरबास पर्यटक लक्षित हुन् । घरबाटै बाहिर निस्कन नपाएपछि घरबास तथा अन्य व्यापार व्यवसाय प्रभावित बन्न पुगेको होमस्टे व्यवसायी संघ पाल्पाका अध्यक्ष मनमोहन श्रेष्ठले बताए ।

एक ठाउँबाट अर्को ठाउँमा मानिस आवतजावत गर्ने भएमा मात्र पर्यटनको विकास हुने हो तर अहिलेको अवस्था घरभित्रै बस्नु पर्ने स्थिती आएकाले पर्यटन क्षेत्र धरापमा परेको उनको भनाई छ ।

पर्यटकको चहलपहल रहने नेपालकै ताजमहलका नामले प्रख्यात रानीमहल दरबार, एशियाकै ठूलो त्रिशुल भएको भैरवस्थान मन्दिर, श्रीनगरडाँडा, पाल्पा दरबार संग्राहालय, रामपुरको एक सय पर्यटकीय गन्तव्यस्थलमा रुपमा सूचिकृत तालपोखरा, निस्दी गाउँपालिकाको काउलेडाँडा बन, रम्भा गाउँपालिकाको रम्भादेवी मन्दिर लगायत जिल्ला थुप्रै पर्यटकीय क्षेत्र अहिले सुनसान छन् ।

कोरनाको कहरले जिल्लाका पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न व्यापार व्यवसाय ठप्प छ । अन्य उद्योग व्यापार, व्यवसायको तुलनामा पर्यटन व्यवसायमा नराम्रो संग असर पुगेको नाटाका सचिव सागरमान महर्जन बताउछन् ।

“पर्यटनसँग लक्षित गरेर संचालन गरिएका व्यवसायमा ठूलो लगानी लगाउनु पर्ने हुदा बन्दाबन्दी (लकडाउन) खुलेपनि बाहिरी देशबाट पर्यटक झट्टै भित्रिने अवस्था नरहेको हुँदा केही समय पहिलाको स्थितीमा आउन मुस्किल पर्ने देखिन्छ” – उनले बताए ।

कोरनाको कहर हटेर गएपनि यसको असर भने लामो समयसम्म रहने भएकाले पर्यटन व्यवसायी चिन्तित बनेका छन् । कोरनाको कहरकै कारणले व्यवसायीहरु पर्यटन क्षेत्रबाटै पलायन हुने स्थिती नआउँला पनि भन्न सकिन्न । तर राज्यले हरेक क्षेत्रमा परेको असरको अध्ययन गरी सम्बोधन गरी निकासको बाटो देखाउनुपर्ने सम्बद्ध व्यवसायीको माग छ ।

यहाँका ढाका उद्योग, हस्तकलाका उद्योग, विभिन्न साना तथा ठूला व्यवसाय प्रभावित बनेको छ । ढाका उद्योेगबाट उत्पादित विभिन्न सामग्री पर्यटकले कोशेलीका रुपमा लैजाने चलन छ । विदेशी पर्यटकले ठूलो परिमाणमा ढाका कपडा खरिद गर्ने गर्दा व्यापारीलाई राम्रो आम्दानी गर्ने अवसर हुन्छ । पर्यटकलाई लक्षित गरी ढाका कपडा उत्पादन गरेका व्यवसायी पनि कोरनाको कहरले उद्योग नै धरासयी बनेको बताउँछन् ।

अन्र्तराष्ट्रिय स्तरमा नै पहिचान बनाएको पाल्पाली ढाकाले आन्तरिक मात्र नभई बाह्य पर्यटकलाई लोभ्याएको छ । ढाका कपडाबाट उत्पादित झोला, टोपी, आस्कोट, गलबन्दी, रुमाल लगायतका सामान पर्यटकको रोजाईमा पर्छन् ।

धेरैले बाह्य पर्यटकलाई नै लक्षित गरी तानसेन बजारमा सटर भाडामा लिएर व्यवसाय चलाएका छन् । कोरना भाइरस सङ्क्रमणको संत्रासले बाह्य पर्यटक झट्ट आउने स्थिती नहुदा ढाकाकपडा व्यवसायी पनि चिन्तित बन्न पुगेका छन् ।

संघीयता कार्यान्वयनमा आएपछि स्थानीय सरकारले पर्यटन क्षेत्रको विकासमा जोड दिएका छन् । स्थानीय सरकार स्थापित भएपछि पर्यटनको गाउँ गाउँमा चहलपहल बढ्दै गएको थियो । पर्यटक लक्षित कार्यक्रम अगाडी सारेका बखत विश्व नै आतङ्कित मच्चाउने कोरना भाइरसको सङ्क्रमणका कारण पर्यटनका बिभिन्न कार्यक्रम पनि स्थगित हुन पुगेका छन् ।

SHARE