हुमाकान्त पोखरेल
गुल्मी वैशाख ३१: गुल्मीको धुर्कोट गाउँपालिकामा अढाई सय रोपनी बाँझो जग्गा खनेर कृषि कार्य गरिने भएको छ । वडा नम्बर २ पिपलधारास्थित सिकर्मी डकर्मी बहुउद्देश्यीय सहकारी सँस्थाले २६० रोपनी बाँझो जग्गा खनेर कृषि कार्य गर्न लागेको हो । उक्त जग्गालाई १५ वर्ष लिजमा लिएर खेती गर्न सुरु गरिएको छ । जसमध्ये दुई सय रोपनीमा ६ हजार कागती लगाउने, ३० रोपनीमा तरकारी र मसलेदार खेती, ३० रोपनीमा ओखर खेती गर्ने सहकारीले जनाएको छ । त्यस्तै ४ रोपनी जग्गामा गोठ तथा खोरको फर्म निर्माण गरि ५ भैसीँ र ६० बाख्राको व्यवसायीक पालन पालन सुरू गरिएको छ । फर्ममा १० भैसीँ र एक सय बाख्रा पुर्याउने लक्ष्य रहेको सहकारीका अध्यक्ष ज्ञान बहादुर विश्वकर्माले बताउनुभयो ।
गत पौष महिनामा धुर्कोट गाउँपालिकामा दर्ता भएको पिपलधारा सिकर्मी डकर्मी बहुउद्धेश्य सहकारी संस्थामा ४२ जना सेयर सदस्य रहेको छन ।
बाँझो जग्गामा खेती गर्नका लागि सहकरीमा ५ जना व्यक्तिले ५० लाख बराबरको लगानी गरेका छन् । ६ हजार कागती खेती गर्नका लागि सहकारीले एक सय भन्दा बढी व्यक्तिहरुलाई दैनिक पाँच सय देखि एक हजार सम्मको ज्याला दिने गरि काम समेत दिइएको छ । खेतीयोग्य उक्त जग्गा विगत १० वर्ष देखि बाँझो रहेको थियो ।
गाँउपालिकाको अनुदानले कृषि कर्ममा प्रेरणा
केही दिनअघि धुर्कोट गाउँपालिकाले दुई बर्षदेखि बाँझो रहेको जग्गा खनि खेती गरेमा अनुदान दिने निर्णय गरेको थियो । उक्त निर्णयसँगै गाउँपालिकाका विभिन्न वडाहरूमा बाँझो जग्गा खन्ने कार्य भइरहेको छ ।
कृषि ज्ञान केन्द्र गुल्मीबाट अनुदान पाएको सहकारीले बाँझो जग्गामा खेती गरे वापत गाउँपालिकाको निर्णय अनुसार सुन्तला, कागती लगायतका अन्य फलफुलको खेती गरेवापत प्रति रोपनी ३ हजार र अन्नवाली, तरकारीवाली तथा मसलेदार खेती गरेमा ४ हजार दिइनेछ । सहकारीका अध्यक्ष विश्वकर्माले गाउँपालिकाको अनुदानले आफुहरूलाई काममा थप हौसला मिलेको बताउनुभयो । गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले गाउँपालिकालाई खाध्य संकटबाट जोगाउन बाँझो जग्गा खन्नेलाई अनुदान दिने निर्णय गरिएको बताउनुभयो । गाउँपालिकाले अनुदान दिने भएपछी बाँझो जग्गामा कागती, सुन्तला तथा बाख्रापालन, भैँसीपालन लगायतका अन्य कृषि कार्य तर्फ मानिसहरु उत्प्रेरित वनेका छन ।