नेकपा स्थायी कमिटी बैठक आज

0
536

बैशाख ३१, २०७७ काठमाडौं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज बस्दैछ। विहान ११ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकको एजेण्डा अहिलेसम्म तय भइसकेको छैन।

स्थायी कमिटी सदस्य सुवास नेम्वाङले भने सरकारको नीति तथा कार्यक्रम र भारतसँगको सीमा विवादबारे सामान्य छलफलका लागि बैठक डाकिएको बताए। ‘छलफल गर्नुपर्ने विषय त धेरै छन् तर अहिले नीति तथा कार्यक्रम र लिपुलेकमा भारतले सडक बनाएकोबारे मात्रै छलफल हुन्छ, नेम्वाङ्ले थाहा खबरसँग भने, ‘पार्टीको बैठक दिउँसो १ बजे संसद बैठक सुरु हुनु अघि नै सक्ने तयारी छ।’

अर्का स्थायी कमिटी सदस्य डाक्टर बेदुराम भुषालले भने आफूहरुलाई बैठकका एजेण्डाबारे जानकारी नदिइएको बताए। बैठकमा सरकारको नीति तथा कार्यक्रम र बजेटका सन्दर्भमा सुझाव लिन खोजिएको हुनसक्ने भन्दै भुषालले तर ढिलो भएकाले सुझावको औचित्य नहुने बताए। यसअघि स्थायी कमिटीको बैठक नबोलाउने अडानमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम संसदबाट पारित गर्न पार्टीभित्रैबाट असहयोग हुनसक्ने आशंका भएपछि बैठक बोलाउन तयार भएको नेताहरुको अनुमान छ।

प्रधानमन्त्री ओलीले दुई वटा विवादास्पद अध्यादेश जारी गरेपछि २० स्थायी कमिटी सदस्यले तत्काल स्थायी कमिटी बैठक बोलाउन माग गर्दै दुवै अध्यक्षलाई लिखित पत्र बुझाएका थिए। प्रधानमन्त्री ओली भने आफ्नो राजीनामाको माग उठ्ने भन्दै स्थायी कमिटी बैठक अहिले आवश्यक नभएको बताउँदै आएका थिए। यसअघि बैशाख २५ गतेका लागि डाकिएको स्थायी कमिटी बैठक पनि अन्तिममा एजेण्डा तय नभएको भन्दै स्थगित गरिएको थियो।

SHARE