बाँझो जग्गालाई खेतियोग्य वनाउँदै गुल्मीको धुर्कोट गाउँपालिका

0
738

बैशाख३०,२०७७ गुल्मी  :  गुल्मीको धुर्कोट गाउँपालिकाले बाँझो जमिनमा खेती गर्ने किसानलाई अनुदान दिने घोषणा गरे सँगै गाउँपालिका भित्र बाँझो जमिनलाई खेतियोग्य वनाउने कार्यको सुरुवात गरिएको छ ।
धुर्कोट गाउँपालिकाको वडा नं। २ पिपलधारामा रहेको पिपलधारा सिकर्मी डकर्मी बहुउद्धेश्य सहकारी संस्थाले २६० रोपनी बाँझो जमिनलाई खेतियोग्य वनाउन लागेको हो ।
गाउँपालिकाले केही हप्ता पहिले खाद्यान्न अभाव हुन नदिन २ वर्ष देखि बाँझो रहेको जमिनमा खेती गर्ने किसानलाई अनुदान दिन निर्णय गरेपछी सहकारीले २६० रोपनी जग्गालाई १५ वर्ष लिजमा लिएर खेती गर्न सुरु गरेको हो । २०० रोपनीमा ६ हजार कागती खेती गर्ने कार्यको सुरु भइसकेको छ ।
त्यस्तै ३० रोपनीमा तरकारी र मसलेदार खेती, ३० रोपनीमा ओखर, सुन्तला लगाायतका अन्य फलफुल खेती तथा ४ रोपनी जग्गामा गोठ तथा खोरको फार्म निर्माण गरि ५ भैसि र ६० बाख्रा खरिद गरिएको छ भने फार्ममा १० भैसी र १०० बाख्रा पु¥याउने लक्ष्य रहेको सहकारीका अध्यक्ष ज्ञानबहादुर विश्वकर्माले जानकारी दिए ।
गत पुष महिनामा धुर्कोट गाउँपालिकामा दर्ता भएको पिपलधारा सिकर्मी डकर्मी बहुउद्धेश्य सहकारी संस्थामा ४२ जना सेयर सदस्य रहेको छन । जसमा ८० प्रतिशत भन्दा बढी व्यक्तिहरु दलित छन ।
बाँझो जग्गामा खेती गर्नका लागि सहकारीमा ५ जना व्यक्तिले करिव ५० लाख बराबरको लगानी गरेका छन् । ६ हजार कागती खेती गर्नका लागि सहकारीले १०० भन्दा बढी व्यक्तिहरुलाई दैनिक ५०० देखि १००० सम्मको ज्याला दिने गरि काम समेत दिएको छ । विगत १० वर्ष देखि बाँझो रहेको जमिन विभिन्न वोट विरुवाहरुले जंगल जस्तै वनिसकेको थियो ।

कृषि ज्ञान केन्द्र गुल्मीबाट अनुदान पाएको सहकारीले बाँझो जग्गामा खेती गरे वापत गाउँपालिकाको निर्णय अनुरुप सुन्तला, कागती लगायतका अन्य फलफुलको खेती गरेवापत प्रति रोपनी ३ हजार र अन्नवाली, तरकारीवाली तथा मसलेदार खेती गरेमा ४ हजार दिने निर्णय भए अनुरुप सहकारीलाई अनुदान उपलब्ध गराइने गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए । उनले खाद्य संकट टार्न र गाउँपालिका भित्र रहेको बाँझे जग्गालाई उत्पादनमा जोडदै गाउँमै युवाहरुलाई स्वरोजगार बन्नका लागि पनि आग्रह गरेका छन् ।
गाउँपालिकाले अनुदान दिने भएपछी बाँझो जग्गामा कागती, सुन्तला तथा बाख्रापालन, भैँसीपालन लगायतका अन्य कृषि कार्य तर्फ मानिसहरु उत्प्रेरित वनेका छन ।

SHARE