बैशाख ३०, २०७७ इलाम :इलामको माईजोगमाई गाउँपालिका–३ शुक्रबारे बजारमा सोमबार साँझ भएको आगलागीबाट करिव ७० लाख बराबरको क्षति भएको छ। साँझ ९ः४५ बजे बेद कैयाको घरबाट सुरु भएको आगलागीबाट ३ घर पुर्ण रुपमा क्षति पुगेको छ।
नामसालिङ प्रहरी चौकी इन्चार्ज टेकराज गिरीकाअनुसार कैयाको घरमा कोही पनि नभएको अवस्थामा आगलागी भएको थियो। घरमा रहेको २ वटा मध्ये एउटा ग्यासको सिलिन्डर विष्फोट भएको थियो। आगलागीबाट रुकमेणा प्रधानको घर र किराना पसल, छत्रकुमारी लावरको घर तथा कैयाको जुत्ता र कपडाको पसलमा क्षति पुगेको छ।
नामसालिङ प्रहरी चौकी, इलाका प्रहरी कार्यालय नयाँबजार र स्थानीयको सहयोगमा आगो विहान करिव ५ः४५ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। दमकल नहुँदा पानी ओसारेर आगो नियन्त्रणमा लिनु पर्ने भएकाले समय लागेको गिरीले जानकारी दिए।
आगलागीबाट घर पुर्ण रुपमा क्षति भएको पीडित परिवारलाई ५० हजार र लत्ता कपडा आज नै राहत स्वरुप प्रदान गरिने माईजोगमाई गाउँपालिकाका अध्यक्ष जीतबहादुर राईले जानकारी दिए।