रामपुरका कृषकलाई अनुदानमा धानको वीउँ वितरण

0
819

सुशीला रेग्मी

वैशाख २९, पाल्पा  :पाल्पाको रामपुर नगरपालिकाले कृषकलाई अनुदानमा धानको वीउँ वितरण गरेको छ । वडा कार्यालय तथा कृषि शाखा कार्यालयबाट धानको वीउँ वितरण कार्य भइरहेको छ । वडा तथा कृषि शाखा कार्यालयमा उत्साहित हुदै अहिले धानको वीउँ लिन आउने कृषकको चहलपहल छ ।

आइतवार वडा नं १, २, ३, ५ र ७ मा र सोमवार वडा नं ४ र ६ मा धानको वीउँ वितरण गरिएको कृषि शाखा प्रमुख रामहरी पाण्डेयले जानकारी दिए । कृषकको मागको आधारमा सावित्री जातको करिव २७ टन धानको वीउँ वितरण गर्ने कार्यक्रम रहेको शाखा प्रमुख पाण्डेयले बताए । वडा कार्यालयले कृषक तथा समुहबाट निवेदन सङ्कलन गरी कृषकले माग गरेअनुसार नै धानको वीउँ वितरण भएको छ ।

कृषकले सावित्री, रामधान र सावामन्सुली जातका धान माग गरेका छन् । सावित्री धान वितरण गरेर सकिएलगत्तै करिव आठ क्वीण्टल सावा मन्सुली र रामधान जातको धान वितरण गरिने कृषि प्राबिधिक प्रज्ज्वल केसीले बताए ।
रामपुर नगरपालिका वडा नं ५ ले कृषि शाखा कार्यालयबाट ४५ कृषक र समुहलाई तीन हजार पाँच सय किलो धानको वीउँ वितरण गरेको वडा सदस्य सावित्रा गौतमले बताइन् । गतवर्ष नगरपालिकाले आठ क्वीन्टल धानको वीउँ वितरण गरेको थियो । कोरनाको कहरका कारणले पनि यसवर्ष धेरै माग आएको छ । नगरपालिकामा धानको उत्पादन बृद्धि गर्न सावित्री जातको धान ५० प्रतिशत अनुदानमा प्रतिकिलो रु ३३ मा वितरण गरिएको छ ।

SHARE