कृषकको घरमै गएर योजनाहरको सम्झौता गर्दै कृषि ज्ञान केन्द्र गुल्मी

0
992

तिलाचन पाण्डे
बैशाख २९,२०७७ गुल्मी  : कृषि ज्ञान केन्द्र गुल्मीले किसानको घरघरमै गएर योजनाहरुको सम्झौता गरेको छ ।
कृषि ज्ञानकेन्द्र गुल्मीद्धारा बिनियोजन भएका सुन्तला , कागती , फलफूल मिसन कार्यक्रम र साना सिंचाई कार्यक्रमहरुको किसानको घरमै गई किसानसंग योजनाहरुको सम्झौता गरिएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख बुद्धिराज घिमिरेले जानकारी दिए ।
लकडाउनका कारण कृषकहरु सदरमुकाम तम्घास आउन पनि नसक्ने र कृषकहरुले घरमै बसेर सामाजिक दुरी कायम गरी खेती किसानी गर्न सक्ने भएकाले कृषकहरुको बगैचा र घरमै गई उनीहरुसंग सम्झौता गरिएको घिमिरेले दाबी गरे ।
२० रोपनी जग्गामा सुन्तला , कागती लगाउने ९८ जना जिल्लाका कृषकहरुलाई रु एक लाखका दरले कार्यलयले अनुदान दिने र एक लाख किसानहरुले लगानी गर्ने गरी सम्झौता गरिएको घिमिरेले जानकारी दिए ।
यस्तै जिल्लामा पाँचवटा दूइसय रोपनी जग्गामा कागती, सुन्तला लगाउने कृषक समूह र सहकारीहरुसंग पनि सम्झौताको क्रम चलिरहेको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ । दूइसय रोपनी जग्गामा कागती सुन्तला खेती गर्ने कृषकसमुह र सहकारीलाई रु १० लाखका दरले अनुदान दिने कार्यक्रम रहेको र उनीहरुसंग पनि सम्झौता गर्ने क्रममै रहेको कार्यलयले जनाएको छ ।
यो संगै साना सिंचाई कार्यक्रम अन्र्तगतका योजनाहरुको पनि कृषककै घरमै गएर सामाजिक दुरी कायम गरी सम्झौता गर्ने कार्यलयले जनाएको छ । जसका लागि कार्यलयका कर्मचारीहरु टोली बिभाजन गरि फिल्डमा रहेको र कृषकसंग सम्झौता गर्ने कार्यक्रम चलिरहेको कृषि अधिकृत हरि आर्चायले जानकारी दिए ।
यसरी कार्यलयका हाकिमहरुसंगै कर्मचारीहरु आएर घरमै योजनाको सम्झौता गर्न पाउँदा आफूलाई बल्ल कृषक जस्तो अनुभूति भएको धुर्कोट गाउँपालिका वडा नं २ का कृषक ज्ञानबहादुर कामीले बताए ।

SHARE