कुमारी बैंकको बदमासी : सामाजिक सुरक्षा भत्ताको सेवा शुल्क असुल्यो

0
627

बैशाख १०, २०७७ स्याङ्जा  : कुमारी बैंकले वृद्धवृद्धाहरुको खातामा सामाजिक सुरक्षा भत्ता राखेबापत रकम काटेको खुल्न आएको छ।बैंकले सामाजिक सुरक्षा भत्ता प्रवाह गर्दा कुनै पनि शुल्क काट्न नपाउने प्रावधान छ। तर कुमारी बैंकले यहाँका सेवाग्राहीको खाताबाट सेवा बापत रकम काटेको हो।

स्याङजा सदरमुकाम पुतलीबजारमा स्थापना गरिएको कुमारी बैंकको शाखाले वृद्धवृद्धाहरुलाई जानकारी नै नगराई खातामा आएको भत्ताबाट एसएमएस बैंकिङ सेवाबापत २५० रुपैयाँका दरले रकम काटेको पाइएको हो।

सामाजिक सुरक्षा भत्ता बुझ्नेमध्ये करिब १०० जनाको खाताबाट बैंकले रकम काटेको सेवाग्राहीहरूले गुनासो गरेका छन्‌। पुतलीबजार नगरपालिकाको वडा नं १० र ११ मा कुमारी बैँकले सामाजिक सुरक्षा भत्ता वितरण आएको छ। यस बैँकमार्फत सेवा लिने सेवाग्राही करीब ५०० जना रहेको बैंकका शाखा प्रबन्धक अमरमान श्रेष्ठले जानकारी दिए। खाता इन्ट्रि गर्दा नै समस्या भएको बताउँदै श्रेष्ठले भने, ‘यो प्राविधिक समस्या हो, केन्द्रको सिस्टमबाट रकम काटिएको हो, यो रकम फिर्ता हुन्छ।

’ एसएमएस बैंकिङ सेवा वापतको रकम प्रधान कार्यालयले काटेको र उक्त रकम फिर्ता हुने शाखा प्रबन्धक श्रेष्ठले बताएपनि यसबारे बुझ्दा वृद्धभत्ता लिनेहरुको एसएमएस बैंकिङ सेवामा रकम नलाग्ने बैंककी कर्मचारी अनुशा शाक्यले बताइन्‌।

आफ्नो खातामा चौमासीकको ११ हजार रुपैयाँ मात्रै आएकोले ११ हजारको मात्रै चेक काटेको पुतलीबजार नगरपालिका ११ मायाटारीका भीमबहादुर गैह्रेले बताए। एक हजार रुपैयाँ किन आएनरु आफूलाई थाहा नभएको उनले बताए।

आफूले बैंकमा खाता मात्रै खोलेको र एसएमएस बैंकिङको लागि कुनै फर्म नभरेको गैह्रेले जानकारी दिए। यता बैँकका शाखा प्रबन्धकले गैह्रेको खातामा चौमासिक भत्ताबापतको रकम १२ हजार नै रहेको र बाँकी एक हजार पनि खातामा नै रहेको जानकारी दिएका छन्।

एकल महिलाको आठ हजार, बृद्धभत्ता १२ हजार, अशक्तको ६ हजार ४०० रुपैयाँ रकम सामाजिक सुरक्षा भत्ताबापत सेवाग्राहीले वित्तीय प्रणालीमार्फत बुझ्दै आएका छन्। पुतलीबजार नगरपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गर्न कुमारी बैंकसँग सम्झौता गरेको छ। बैंक र नगरपालिकाबीच भएको सम्झौतामा सामाजिक सुरक्षा भत्ता लिनेहरुलाई विद्युतीय सेवा प्रवाह नगर्ने उल्लेख भएको नगरपालिकाले जनाएको छ।

सामाजिक सुरक्षा भत्तालाइ पारदर्शी बनाउन वित्तीय प्रणाली विश्वसनीय मानिएको छ। सरकारले सुरक्षा भत्ता वितरण गर्न शहरदेखी गाउँसम्मका पालिकामा वाणिज्य बैंकको स्थापना अनिवार्य गरेको छ। थाहाखबरबाट

SHARE