
बैशाख १०, २०७७ दैलेख : दैलेखका एक व्यापारीले व्यक्तिगत लगानीमा दुई लाख ५० हजार बराबरको स्वास्थ्य सामग्री वितरण गरेका छन्।
उद्योग वाणिज्य संघ दैलेखका अध्यक्षसमेत रहेका भैरहवा सुनचाँदी पसलका प्रोपराइटर कुलबहादुर विकले उक्त स्वास्थ्य सामग्री वितरण गरेका हुन्। विकले बुधबार जिल्ला प्रशासन कार्यालय दैलेख जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल दैलेख, नेपाली सेना स्वास्थ्य सेवा कार्यालय कारागार र जिल्लामा क्रियाशील पत्रकारलाई उक्त रकम बराबरको स्वास्थ्य सामग्री प्रदान गरिएको बताए।
वितरण गरिएको स्वास्थ्य सामग्रीमा ९ सय ६० थान मास्क, ६ सय ३० थान साबुन, ९५ थान सेनिटाइजर, ६ सय थान ग्लोब्स रहेका छन्। कोरोनाबाट बच्न सरकारले गरेको लकडाउन सबै नागरिकले पालन गरी कोरोनामुक्त नेपाल बनाउन सरकारलाई सहयोग गर्नुपर्ने उनले बताए।









