
बैशाख १०, २०७७ काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज संसदमा प्रतिनिधित्व गर्ने सबै विपक्षी दलको संयुक्त बैठक आह्वान गरेको छ।
सरकारले हालै जारी गरेको दुई विवादित अध्यादेशबारे संसदमा रहेका विपक्षी दलहरुसँग छलफल गरेर साझा धारणा तय गर्न लागेको पार्टीका सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले जानकारी दिए। बैठक कांग्रेसको पार्टी केन्द्रीय कार्यलय सानेपामा दिउँसो २ बजे बस्नेछ।
बैठकमा संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरु समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल राजपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका तर्फबाट अध्यक्ष वा संयोजक सहित तीनरतीन जना सहभागी हुने महतले बताए। कांग्रेसले पार्टी फुटाउन सहज हुने गरी सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश र बहुमतबाटै निर्णय गर्नसक्ने गरी आएको संवैधानिक परिषदको कार्यविधिसम्बन्धी अध्यादेशको भर्त्र्सना गर्दै तत्काल फिर्ता लिन माग गर्दै आएको छ।






