कांग्रेस र नेकपाको विवादले सुर्खेतमा राहत वितरण रोकियो

0
353

बैशाख ९, २०७७ सुर्खेत :  चिंगाड गाँउपालिकामा राहत वितरणको विषयले विवाद निम्त्याएको छ। केही वडाहरुले राहत वितरणमा विभेद गरेको भन्दै राहत कार्यक्रम नै रोकिएको छ।

राहत वितरणका लागि नामवली छनोटमा विवाद भएकाले वडा नम्बर २ मा राहत नै वितरण हुन नसकेको हो। गाउँपालिकाका केही वडामा दलीय निकटकालाई मात्र राहत वितरण गरेको नेकपा चिंगाडले आपत्ति जनाएको छ। नेपाली कांग्रेसले जितेका वडाहरु राहतका लागि नामावली छनोट गर्ने बेला दलीय विभेद भएको नेकपाले आरोप लगाएको छ।

नेकपा चिंगाडका अध्यक्ष समरबहादुर कामी र सचिव हर्कबहादुर रानाले राहतमा विभेद भएको भनी ज्ञापनपत्र नै बुझाएका थिए। दलीय सहमतिबिना गाउँपालिकाले राहत वितरणका लागि नामावली संकलन गरेको नेकपाले ज्ञापनपत्रमार्फत आपत्ति जनाएको हो। गरिब र विपन्न भनी ९ सय १० जनाको नाम छनोट गरिएको रवडा नम्बर १, २ र ४ मा राहत पाउनुपर्ने वास्तविक विपन्नको नाम नभएको उसको आरोप छ।

राहतका लागि कोटेसन आहवान गर्ने बेलामा पनि राजनीतिक स्वार्थ हेरिएको नेकपाको आरोप छ। गाउँपालिकाले दुई दुई पटक एकदिने सूचना निकाली आफ्ना नजिकका व्यापारीको कोटेसन स्वीकृत गरेको र राहतमा पनि राजनीति गरेको आरोप नेकपाको छ। साथै नेकपाले महामारीको समयमा पालिकाका विषयगत शाखाका कर्मचारीलाई बिदा दिएको र सरकारी संयन्त्र नै परिचालन गर्न नसकेको पनि आरोप लगाएको छ।

वडा नम्बर २ का अध्यक्ष बुधे खत्रीले भने हतारमा निर्णय लिनुपरेकाले केहीको नाम छुटेको स्विकारे। छलफल गरेर छुटेकालाई पनि राहत दिने व्यवस्था गरिने उनले बताए। यता गाँउपालिकालले भने सबै प्रक्रियामार्फत नै काम भइरहेको जनाएको छ।

SHARE