खाद्यान्‍न अभावले गाउँ छाडेर जंगल पसेका राउटेलाई फर्काइयो

0
432

प्रकाश पार्की बैशाख ९, २०७७ डडेल्धुरा  : विश्वव्यापी माहामारीका रूपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को त्रासदीसँगै खाद्यान्न अभाव हुन थालेपछि गाउँ छोडेर जंगल पसेका डडेल्धुराका राउटेलाई गाँउमै फर्काइएको छ। गाउँमा बस्दा कोराना सर्न सक्ने भन्दै केही दिनअघि गाईगोरु र बाख्रासहित यहाँका राउटे समुदाय नजिकैको जंगलमा गएर बसेका थिए।

डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका १२ आमपानीमा बस्दै आएका राउटेहरु कोरोनाको त्रासका कारण केही दिनअघि गाउँ छोडेर यहाँकै नजिकैको राष्ट्रिय वन क्षेत्रमा पुगेका थिए। राउटे समुदाय गाउँ छोडेर करिब डेढ घण्टाको दूरीमा रहेको राष्ट्रिय वनक्षेत्र अन्तरगतको जंगलमा एक दर्जनभन्दा बढी टहरा निर्माण गरेर बसेका हुन्। उनीहरु कोरोनाको संक्रमणबाट बच्न र खाद्यान्न समस्या भएपछि जंगलमा रहेका तरुल, गिठा खाएर छाक टार्न सहज हुने भन्दै जंगल पसेका थिए।

विगतका वर्षहरुमा जंगलमा बस्दै आएका उनीहरु यतिबेला लकडाउनका कारण घरमा खाद्यान्न अभाव हुन थालेको र स्थानीय सरकारले समेत बेवास्ता गरेपछि भोकमरीमा परेको भन्दै जंगल पसेका चन्द्रसिंह राउटेले बताए। नगरपालिकाले राहत दिने भनेपछि उनीहरु घर फर्किएका हुन्। लकडाउनका कारण गाउँमा मजदुरी गर्न नपाउँदा खानाको समस्या भएपछि गाईगोरु र बाख्रासहित उनीहरु जंगल छिरेका थिए। तर परशुराम नगरपालिकाले राहत दिने भनेपछि नगरप्रमुखको आग्रहअनुसार जंगलबाट फर्किएका बहादुर राउटेले बताए। लकडाउनका कारण गाउँमा मजदुरी गर्न नपाउँदा बाँच्न गाह्रो परेको अनिता राउटेले दुखेसो पोखिन्।

परशुराम नगरपालिकाले जंगल पसेका राउटेहरुलाई घर फिर्ता गरेर राहतसमेत उपलब्ध गराएको जनाएको छ। खाद्यान्न अभाव भएको भन्दै जंगलमा पुगेका राउटेलाई घर फर्काएको र गाउँमै पुगेर राहत वितरण गरेको नगरप्रमुख भीमबहादुर साउदले जानकारी दिए।

टहरा आगो लगाई नष्ट गरियो

राउटे समुदायका व्यक्तिहरुले चुरे क्षेत्र अतिक्रमण गरी बसेका थिए। उक्त जानकारी पाएपछि पाएपछि वन कार्यालय र स्थानीय सामुदायिक वन उपभोक्ता समितिको टोली गएर टहरा हटाइएका थिए। डिभिजन वन कार्यालय डडेल्धुराले जनाएअनुसार वनमा छाप्रा टहरा भत्काइ आगो लगाइएको छ। सालको वन भएको भित्रीमधेश जोगबुडा क्षेत्रमा अतिक्रमण गरी बनाइएका ६ वटा छाप्रा भत्काइ आगो लगाइको छ।

डिभिजन वन अधिकृत विष्णुप्रसाद आचार्यका अनुसार परशुराम नगरपालिका १२ स्थित सालका रुख भएको राष्ट्रिय वन क्षेत्रमा उनीहरुले बुकुरा बनाइ अतिक्रमण गर्न खोजेका थिए। त्यहाँ ६ वटा छाप्रा भत्काइएको छ। डङशेरा सामुदायिक वन उपभोक्ता समूहसँग जोडिएको राष्ट्रिय वन क्षेत्रका ६ वटा बुकुरा सामुदायिक वनका पदाधिकारी, उपभोक्ता र वन कार्यालयका कर्मचारीहरुको पहलमा भत्काई आगो लगाइएको हो। उनले अन्यत्र पनि कतै यस्तो भएको थाहा भएमा यथाशीघ्र जानकारीका लागि आग्रह गरेका छन्। थाहाखबर डटकमबाट

SHARE