गाउँका नाकानाकामा बार ,गरीब र श्रमिकको बेहाल

0
450

ध्रुवसागर शर्मा

बैशाख ७, २०७७ म्याग्दी  : म्याग्दीको मालिका गाउँपालिका वडा नं ३ रुम पात्लेका दर्पण घर्ती लकडाउनका कारण घरमा आउन नपाएपछि पोखरामा अलपत्र परेका छन्।

विगत ६ महिनादेखि कास्कीको घाटीछिना भन्ने ठाउँमा सडक निर्माणमा खटिएका घर्ती सहित म्याग्दी, रोल्पा, दाङ, बर्दिया लगाएतका जिल्लाका ५० जना भन्दा बढि मजदुरहरुमध्ये कोही हिँडेरै आफ्नो गृहजिल्ला तिर लागेका छन् भने कोही पोखरामै अलपत्र परेका छन्। सडक निर्माण जिम्मा लिएको ठेकेदार शेरबहादुर भन्ने व्यक्ति सम्पर्कमा नआएपछि सडक निर्माणमा खटिएका मजदुरहरुको विचल्ली भएको पीडित दर्पण घर्तीले बताए।

अलपत्र परेपछि आश्रय लिन भाइ कृष्ण घर्ती भाडामा बस्दै आएको पोखराको सिद्धार्थ चोकस्थित एक घरमा पुगेपनि त्यहाँ घरबेटीले बस्न नदिएको उनले जानकारी दिए।अलपत्र परेका घर्तीलाई पोखराकै मनकारी सूर्य प्रसाद बरालले आश्रय दिएका छन्। त्यसैगरी म्याग्दीको मालिका गाउँपालिका १ गुर्जा घर भै बेनी नगरपालिका वडा नं २ बगरफाँटमा ज्याला मजदुरी गर्दै आएका जसवीर विक, लक्षुमन विक, जीवलाल विक र कालु विक गाउँ जान नपाएपछि बगरफाँटमा नै अलपत्र परेका छन्।

ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएका उनीहरुले लकडाउनका कारण काम गर्ने वातावरण नभएपछि भोकभोकै वस्नुपर्ने अवस्था आएको बताएका छन्। वडा कार्यालयले दिएको राहत ९खाद्यान्न० सकिएको र अव खानाका लागि आफूहरुसँग केही नभएकोले भोकभोकै बस्नुपरेको लक्षुमन विकले बताए। आफ्नो गाउँ गुर्जा जानभनेर धवलागिरि गाउँपालिकाको धारापानीसम्म पुगेका विकलाई त्यहाँबाट स्थानीयले त्यहाँबाट अघि बढ्न नदिएपछि बाध्य भएर फर्किएका थिए। म्याग्दीका विभिन्न ठाउँहरुमा यस्तै अलपत्र अवस्थामा रहेका गरिब र श्रमिकहरुको संख्या धेरै छ।

यसरी विभिन्न ठाउँमा अलपत्र परेका मजदुरहरु आफ्नो गाउँ फर्किन चाहन्छन्। तर कोरोनाको संक्रमणबाट जोगिन विभिन्न ठाउँका नाकाहरुमा ओहोरदोहोर हुन नदिनका लागि बार लगाएर हिँड्डुल गर्न प्रतिवन्ध लगाएपछि उनीहरु गाउँ जान सकेका छैनन्।थाहाबाट

SHARE