चैत २७, २०७६ काठमाडौ : सरकारले भोलि र पर्सी दुई दिन काठमाडौं बाहिर जान यातायात सिमित मात्रामा खुलाउने निर्णय गरेको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बिहीबार बसेको कोरोना रोकथाम तथ नियन्त्रण उच्चस्तरीय समितिको बैठकले यस्तो निर्णय लिएको हो।
समितिका सदस्य तथा भौतिक मन्त्री वसन्तकुमार नेम्वाङले लकडाउनका कारण उपत्यकामा रोकिएर बस्न बाध्य सर्वसाधारणलाई गन्तव्यसम्म पुग्नका लागि दुई दिन उपत्यकाबाट बाहिरिने सिमित यातायात खुलाउने निर्णय भएको बताए। उनका अनुसार यी दुई दिनमा उपत्यकाबाट मात्रै गाडी जान पाउनेछन्। बाहिरबाट उपत्यकामा गाडी आउन पाउने छैनन्। सरकारले चैत ११ गतेदेखि लागू हुने गरी लकडाउन गरेपछि घर जान नपाएका मजदुर र अन्य सर्वसाधारण बिलखबन्दमा परेपछि सरकारले यस्तो निर्णय लिएको हो।
यसबाट उपत्यकामा आपूर्ति पनि सहज हुने विश्वास लिइएको बताइएको छ। लकडाउन लम्बिने भएपछि धेरै मानिस अहिले पैदलै उपत्यकाबाट बाहिरिइरहेका छन्। कमाएको पैसो तथा अन्न सकिँदै गएर समस्या हुन थालेपछि एक सातायता कयौँ मानिस पैदलै उपत्यका बाहिर गइरहेका छन्।