चैत ८, २०७६ काठमाडौं : कोरोना भाइरस को महामारीबारे भ्रमपूर्ण अडियो क्लिपलाई सामाजिक सञ्जालमार्फत भाइरल बनाउनेलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीको साइबर ब्यूरोले रामेछाप घर भइ भक्तपुरको सिपाडोल बस्दै आएका २० वर्षीय विवेक थापा मगरलाई भ्रमपूर्ण खबर रेकर्ड गरी सामाजिक सञ्जामार्फत फैलाएको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले शनिबार पक्राउ गरेको हो।
साइबर ब्यूरोका प्रमुख एसएसपी नवीन्द्र अर्यालले , ‘हामीले भ्रमपूर्ण अडियो प्रकरणमा सफल अनुसन्धान गरेका छौँ। यसबारेमा थप प्रमाण जुटाइरहेकाले केही समयमा थप विवरण सार्वजनिक गर्नेछौँ।’ कोरोना भाइरसबाट त्रिवि शिक्षण अस्पतालमा चारजनाको मृत्यु भएको र नर्भिक अस्पतालमा ६ जना बिरामी भेटिएको अफवाह फैलाएको आरोप उनीमाथि लागेको छ। यस प्रकरणमा संलग्न अन्यलाई पनि प्रहरीले खोजिरहेको छ।
पक्राउ परेका मगरले नर्भिक अस्पतालमा ६ जना कोरोना भाइरसबाट संक्रमित फेला परेको भन्ने सूचना त्यहीं कार्यरत चिकित्सकले बताएको भन्दै भिडियो क्लिप सेयर गरेका थिए। उनले त्रिवि शिक्षण अस्पतालमा पनि कोरोनाबाट संक्रमित चारजनाको मृत्यु भइसकेको र उनीहरुको शव जलाइसकेको भन्दै हिमाल नाम गरेका साथीका नाममा भ्रमपूर्ण अडियो रेकर्ड गरेर फेसबुक म्यासेन्जरमार्फत् भाइरल बनाएका थिए।