
चैत ८, २०७६ काठमाडौं : कोरोना भाइरस संक्रमणको त्रासले काठमाडौं छाड्ने यात्रुको चाप बढेपछि यातायात व्यवसायीले आज २ सय गाडी थप्ने तयारी गरेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले यात्रुको चाप थेग्न मुश्किल भएकाले बस थप्न लागिएको बताए।
सरकारले पर्सि सोमबारदेखि लामो दुरीका सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएपछि काठमाडौंबाट बाहिरिने यात्रुको चाप बढेको हो। यात्रुलाई सहज र सुरक्षित रुपमा गन्त्ब्यमा पुर्याउनका लागि आवश्यक व्यवस्थापन गर्न सरकार र यातायात व्यवसायीबचि आज बैठक पनि हुँदैछ। विहान ११ बजे यातायात व्यवसायीसँग छलफल गर्न लागिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए।
आवश्यक परे सरकारी गाडीहरु समेत यात्रु ओसार्नका लागि संचालन गर्ने बारे छलफल भइरहेको महानिर्देशक हमालले जानकारी दिए। कोरोना संक्रमणको त्रासले सरकारले अत्यावश्यक बाहेकका सेवा दुई हप्ता बन्द गर्ने घोषणा गरेसँगै दशैंकै झल्को दिनेगरी यात्रुहरु काठमाडौंबाट बाहिरिरहेका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ३० हजार ८ सय ८२ यात्रु बाहिरिएका छन्।

आज र भोली यो संख्या थप बढ्ने यातायात व्यवसायीको अनुमान छ। यसैबीच काठमाडौंबाट पुर्वका विभिन्न जिल्लामा जाने गाडीका यात्रुलाई यातायात व्यवसायीले मास्क र सेनिटाइजर वितरण गरिरहेका छन्। अरनिको यातायात कम्पनीले यात्रुहरुलाई मास्क र सेनिटाइजरको व्यवस्था गरेको कम्पनीका अध्यक्ष चित्रबहादुर कुँवरले जानकारी दिए। संभावित कोरोना भाइरसको संक्रमण हुन नदिई यात्रुलाई सुरक्षित रुपमा गन्तब्यमा पुर्याउनका लागि मास्क र सेनिटाइजरको व्यवस्था गरिएको अध्यक्ष कुवँरले बताए।
थाहाबाट






