सरकारको निर्देशन अवज्ञा गर्दै धमाधम परीक्षा सञ्चालन

0
311

चैत ७, २०७६ संखुवासभा  :  कोरोना संक्रमण विश्वव्यापी हुँदै जान थालेपछि सरकारले यसको गम्भीरता महसुस गरी सरकारले देशभर सबैखाले परीक्षा स्थगित गर्न निर्देशन दिए पनि संखुवासभाको चिचिला गाउँपालिकाले यसको अवज्ञा गरेको छ।

गाउँपालिकामा चैत्र २ गतेबाट १ देखि ९ कक्षासम्मको परीक्षा सञ्चालन भइरहेको छ। चिचिला गाउँपालिकालाई चैत्र ५ गतेभित्र विद्यालयको परीक्षा सक्न जिल्ला शिक्षा तथा समन्वय इकाइले पत्रचारसमेत गरेको थियो। तर गाउँपालिकाले निर्णयको बेवास्था गरेको जिल्ला शिक्षा तथा समन्वय इकाइ प्रमुख केशव भट्टराईले बताए।

गाउँपालिकाले तयारी नपुगेको भन्दै चैत्र २ गतेबाट मात्र परीक्षा सञ्चालन गरेको जनाएको छ। गाउँपालिका भित्रका २० विद्यालयमा परीक्षा चलिरहेका गाउँपालिका शिक्षा शाखा अधिकृत बासु कोइरालाले जानकारी दिए।

गाउँपालिकाले दैनिक २ विषयका दरले परीक्षा सञ्चालन गरिरहेको छ। जिल्लाका अन्य स्थानीय तहले चैत्र ५ गते परीक्षा सकिसकेको छ। चिचिलामा माध्यमिक तहका चार वटा र आधारभूत तहका १६ वटा विद्यालय छन्। २० वटा विद्यालयमध्ये आधारभूत तह ९१–५० बिहीबारै सकिने र बाँकीको ९ गतेसम्म सकिने शिक्षा शाखा प्रमुख कोइरालाले बताए।

SHARE