प्रधानमन्त्री ओलीले राजीनामा दिएर आराम गरे हुन्छ :जबरा

0
258

चैत १, २०७६ काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिएर आराम गरेर बस्नुपर्ने बताएका छन्। शनिबार रिपोर्टर्स क्लब बोल्दै अध्यक्ष जबराले प्रधानमन्त्री ओलीले स्वस्थ हुँदा पनि मुलुकप्रतिको कर्तव्य निर्वाह गर्न नसकेको र अहिले बिरामी हुँदा त झन् सम्भव नभएको टिप्पणी गरे।

उनले भने,‘प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका कारण उहाँले जे–जे गर्दा आराम गर्न सक्नुहुन्छ, त्यो गर्नुपर्छ।’ प्रधानमन्त्रीले राजीनामा दिएर आराम गर्दा नै देश र उनी दुवैको लागि उचित हुने अध्यक्ष जबराको भनाइ छ।

उनले ओली मात्रै नभएर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा नै मुलुकप्रतिको आफ्नो कर्तव्यमा चुकेको आरोप लगाए। अध्यक्ष जबराले नेकपाले गाउँ–गाउँसम्म भ्रष्टाचार विकेन्द्रीकरण गरेको पनि आरोप लगाए। उनले भने,‘अहिले व्यापक भ्रष्टाचार बढेको छ।

सरकाले काण्डैकाण्ड घटाएको छ। ललितानिवास काण्ड, बूढीगण्डकी काण्ड, सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण, संवैधानिक निकायमा राजनीतिकरण भएको छ। न्यायालयमा त झनै बढि राजनीतिकरण भयो।’ वर्तमान सरकार सबै फाँटमा असफल भएको उनको टिप्पणी छ। उनले विदेश नीतिमा पनि झनै असफल भएको दाबी गरे। उनले भने,‘अमेरिकी सहयोग एमसीसी लिने सवालमा त नेकपाले कार्यदल बनाएर गाईजात्रा देखायो।’त्यस्तै, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि मुलुकमा बेथिति र विसंगति हुँदा पनि कुनै किसिमको खबरदारी गर्न नसकेको उनको अर्को आरोप छ।

राष्ट्रवादी शक्ति हौँ

अध्यक्ष जबराले मुलुकको यस्तो अवस्थामा आफूहरु राष्ट्रवादी शक्तिहरु एकजुट भई औंला ठड्याएर बोल्नकै लागि आफूहरूले एकता गरेको पनि विश्वास दिलाए। उनले आफूहरुले सबै पक्षलाई स्विकार्य हुनेगरि साझा संस्थाको रुपमा राजसंस्था हुनुपर्ने कुरा गरेको सुनाए। उनले भने,‘हामीले सबै पक्षलाई स्वीकार्य हुनेगरि साझा संस्थाको रुपमा राजसंस्थासहित प्रजातन्त्रको कुरा गरेका छौं।’ यद्धपि उनले आफूहरु संविधानप्रति पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारे।

उनले भने,‘हामीले संविधान जारी गर्दापनि केही असहमति राखेका थियौं, खासगरी हिन्दूधर्मको बारेमा, हामीले यसको लागि संशोधनपनि हालेका थियौं।’ उनले राजसंस्था नेपालको पूराना संस्था भएकोले यसले निश्पक्ष भूमिका निर्वाह गर्न सक्ने पनि बताए। उनले भने,‘राजसंस्थाको लागि वादविवाद, बहस जारी राखौं, सबै पक्षको सहमति गरौं भन्ने हाम्रो भनाई हो। सबै पक्षलाई राजसंस्था स्विकार्य गर्नको लागि हामी बहस तथा पैरवी गर्छौं।’

सार्क राष्ट्र मिलेर कोरोनाविरुद्ध लड्नु सकारात्मक

अभ्यक्ष जबराले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्ध लड्न सार्क सदस्य राष्ट्र एक भएर लड्नुपर्ने भनेर राखेको प्रस्ताव सकारात्मक भएको पनि उनले स्पष्ट पारे। उनले भने, ‘हाम्रो सरकार त कोरोना भाइरसबारे लापरवाही गरेर बसेको छ। सेल्फ क्वारेन्टाईनमा बस्नुपर्ने कुरा गरेको छ। सरकारको यो कदम अत्यन्तै चिन्ताजनक र निन्दनीय छ।’ उनले मोदीको पहल राम्रो भएको भन्दै यसले नेपाल सरकारलाई ‘रेस्क्यु’ गरोस र राम्रो होस भन्ने कामनासमेत गरे। हरेक वर्ष नेपालको बजेटको ३०र४० प्रतिशत बजेट खर्च नहुने गरेको सुनाउँदै अध्यक्ष जबराले कोरोनाबाट बच्नको लागि चाहिने अत्यावश्क ईक्युपमेन्ट, प्रोटेक्शन क्लोथ, मास्क लगायतका सामाग्री खरिद गर्न सरकारलाई आग्रह गरे।थाहाबाट

SHARE