कोरोना भाइरसको प्रभाव : पाल्पाली ढाका उद्योगमा

0
878
फाइल फोटो

सुशीला रेग्मी

रामपुर (पाल्पा), ३० फागुन  : कोरोना भाइरसको प्रभावले पाल्पाका विभिन्न उद्योग तथा व्यापार व्यवसायमा असर पारेको छ । विश्वभर फैलिएको कोरोना भाइरसले पाल्पाली ढाका उद्योग, होटल रेष्टुरेण्ट तथा व्यापार व्यवसायमा नराम्रो संग असर पुगेको छ ।

लुम्बिनी र पोखराको बीच भागमा पर्ने पाल्पा सदरमुकाम तानसेनको वातावरण अहिले सुनसान जस्तै बनेको छ । लुम्बिनी र पोखरा घुम्न आउने पर्यटक तानसेन बजार पुग्ने गर्थे ।

दुई ठुला शहरको बीचमा रहेकाले पनि पाल्पामा बाह्य पर्यटकको चहलपहल रहन्थ्यो । तर बाह्य पर्यटक नै यहाँ नभित्रिदा जिल्लाका विभिन्न उद्योग, व्यापार, व्यवसायमा असर पुगेको छ ।

बिशेषगरी पाल्पाली ढाका उद्योग र होटल व्यवसायमा कोरोना भाइरसको कारणले व्यापार नराम्रो असर परेको सम्बद्ध व्यवसायीहरु बताउँछन् । पाल्पाको पहिचानको रुपमा प्रख्यात ढाका उद्योगलाई कोरना भाइरसले असर पारेको पाल्पाली ढाका उद्योगी सागर महर्जन बताउनुहुन्छ ।

“कोरनाको संत्रासले पाल्पाली ढाका उद्योगमा नराम्रो असर पुगेको छ, अहिले व्यापार व्यवसाय कम हुदै गएको छ” उहाँले भन्नुभयो ।

उत्पादन भएका पाल्पाली ढाका कपडाका सामग्री बिक्रि नहुदा त्यत्तिकै पसल उद्योगमा समय बिताएर बस्नु परेको उद्योगी व्यवसायीहरु गुनासो गर्छन् ।

ढाका खरिद गर्नकै लागि पर्यटकहरु पाल्पा आउने गर्छन् । तर अहिले कोरोना भाइरसको संत्रासले विदेशी पर्यटकको चहलपहल हराउन थालेको छ । ढाका उद्योेगबाट उत्पादित विभिन्न सामग्री कोशेलीका रुपमा लैजाने चलन छ ।

विदेशी पर्यटकले ठुलो परिमाणमा ढाका कपडा खरिद गर्दा व्यापारीलाई राम्रो आम्दानी गर्ने अवसर हुन्छ । विदेशी पर्यटकको आवागमन नै कम हुन थालेपछि ढाका कपडाको व्यापार व्यवसायमा कमी आएको व्यवसायी मनोज पौडेल बताउनुहुन्छ ।

“कोशेलीको रुपमा धेरैजसो ढाका कपडाबाट उत्पादित सामग्री बाह्य पर्यटकले खरिद गर्ने हुदा व्यवसायी उद्योगीलाई राम्रो आम्दानी आउँछ, कोरोना भाइरसको प्रभावले अहिले व्यापार नै चौपट हुने अवस्थामा छ” पौडेलले भन्नुभयो ।

ठुलो लगानीमा उद्योग व्यवसाय संचालन गरेका व्यक्तिहरु व्यापारमा सुस्तता आउँदा मारमा परेका छन् । कोरना भाइरसले पाल्पाली ढाका उद्योग, होटल व्यवसाय संगै हस्तकलाका उद्योग, विभिन्न साना तथा ठुला व्यवसाय प्रभावित बन्न बनेको छ ।

पर्यटकको बाक्लो उपस्थितीले होटल रेष्टुरेण्ट भरिभराउ हुन्थे । बिगत एक महिना यता सुनसान जस्तै छ ।

कोरोना भाइरसको कारणले जिल्लाका ठुला साना सबैजसो उद्योग, व्यापार व्यवसाय प्रभावित बन्न पुगेको उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एंव होटल व्यवसायी संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठ बताउनुहुन्छ ।

“व्यापार व्यवसाय नै कम भएपछि आयस्रोत नै अत्यन्त न्युन मात्रामा छ, बाह्य पर्यटकले गर्दा ठुला व्यापार व्यवसाय, उद्योगमा सहयोग पुगेको थियो” उहाँले भन्नुभयो । व्यापार कम हुदा मासिक भाडा तिर्न पनि व्यवसायीलाई समस्या भइसकेको उहाँले बताउनुभयो ।

सदरमुकाम तानसेनमा पनि हिजोआज अत्यावश्यक कामकाजका मात्र मानिस पुग्ने गर्छन् । घुमघाम गर्न जाने पर्यटकको चहलपहलले पनि तानसेन बजार गुन्जायमान हुन्थ्यो । तर अहिले भने अति आवश्यक काम बाहेकका व्यक्ति कोही नभित्रिदा सदरमुकामको वातावरण सुनसानमय बनेको छ ।

तानसेनको टुँडीखेल मैदान, श्रीनगरडाँडा, नेपालको ताजमहलका रुपमा रहेको रानीमहल दरबार, भैरवस्थान मन्दिर लगायतका विभिन्न पर्यटकीय तथा धार्मिक क्षेत्रमा पनि पर्यटकको चहलपहल कम छ ।

SHARE