फागुन २९, २०७६ काठमाडौं :पश्चिमी वायुको प्रभावका कारण आज पनि देशका केही स्थानमा हल्का पानी पर्ने संभावना छ।
पश्चिमका केहि स्थानमा दिउँसोपख मेघ गर्जन र हावाहुरी सहित हल्का पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमका उच्च पहाडी तथा हिमाली एक दुइ स्थानमा हल्का हिमपात समेत हुने संभावना रहेको महाशाखाका मौसमविद मीनकुमार अर्यालले जानकारी दिए। देशका अन्य भु(भागको मौसम सामान्यतया सफा रहनेछ। काठमाडौं उपत्यकाको मौसम पनि आज दिनभर सफा रहने महाशाखाले जनाएको छ। काठमाडौं उपत्यकाको न्युनतम तापक्रम आज विहान ९ डिग्री सेल्सियस मापन भएको छ। दिँउसो तापक्रम बढेर २४ देखि २६ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाले अनुमान गरेको छ।