फागुन २३, २०७६ स्याङ्जा :स्याङ्जाको वालिङबाट जग्गाको पुनःनापनक्सा कार्य अर्थात विशेष नापी कार्य को शुभारम्भ गरिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा कुमारी अर्यालले आधुनिक प्रविधिबाट नापनक्सा गर्ने टोटल स्टेशन ९टिएस० मेसिनको स्विच थिचेर पुनः नापनक्सा कार्यको शुभारम्भ गरेकी हुन्।
परम्परागत शैलीमा फिताले नापेर औँलाले जमिन देखाउने प्रविधिको अन्त्य गर्दै आधुनिक प्रविधिबाट जग्गाको वास्तविकता पहिचान गर्न पुनः नापी गरिएको मन्त्री अर्यालको भनाई छ। टिएस मेशिनको स्विच थिचेर पुनः नापनक्सा कार्यको शुभारम्भ गर्दै मन्त्री अर्यालले भनिन्, ‘हिजो नमिलेको जग्गा, भोगचलन गर्दै आएको जग्गामा नमिलेको पुर्जा जस्ता समस्याको अन्त्य हुनेछ।’
नापी कार्यालय वालिङको समेत उद्घाटन गर्दै मन्त्री अर्यालले पृथ्वीको शूक्ष्म अध्ययन गर्ने लाइडर सिस्टम पहिलोपटक प्रयोगमा ल्याइएको बताइन्। मानव शरीरको सबै स्क्यान गर्ने प्रविधि एमआरआई भएजस्तै जग्गा जमिनको स्क्यान गर्ने प्रविधि लाइडर भएको उनको भनाइ थियो। अबको जग्गा प्रशासन, पारदर्शी र सुशासनयुक्त बनाउन मन्त्रालय अघि सरेको मन्त्री अर्यालले बताइन्। उनले बिगतमा नमिलेको जग्गालाई मिलाउँदै जनताको जग्गा जमिन सरकारले सुरक्षा गर्ने बताइन्। यहाँको पुनः नाप नक्सा टिएस मेशिनमार्फत गरिनेछ। उक्त मेसिनको प्रयोगमार्फत जग्गाको सूचना तत्कालै दिनसकिने बताइएको छ। यसले करिब ५ देखि ८ किलोमिटर दूरीसम्मको रिडिङ गर्न सक्ने विशेष नापी कार्यालय पाल्पाका निमित्त नापी अधिकृत सोमप्रसाद गौतमले जानकारी दिए।
‘हाम्रो दरबन्दी पुरा भएर १२० जना कर्मचारी भए भने ६ बर्ष भित्र जिल्लाभरको बास्तबीक नक्सा उतार्ने छौँ’ उनले भने। यो कार्यक्रमको संयोजन भने विशेष नापी कार्यालय पाल्पाले गर्नेछ। एक रोपनी चार आना जग्गामा निर्माण गरिएको नवनिर्मीत नापी कार्यालय आठ कोठाको पक्की भवन मा एकद्वार प्रणालीमार्फत सेवाग्राहीले सेवा प्राप्त गर्नेछन्।
यसैगरी गण्डकी प्रदेश विधायन समितिका सभापती मोहन प्रशाद रेग्मीले सरकार जनताको पक्षमा जनमुखी कार्यक्रम लिएर अगाडि बढेको बताए। उनले भने , ‘तीनतहकै सरकार सह अस्तित्व , सहकार्य र समन्वयात्मक ढंगले अगाडी बढ्न सके जनताको अपेक्षा अनुशार काम गर्न सकिन्छ।’
गण्डकी प्रदेश सासंद मिनप्रसाद गुरुङले विकाश निर्माणमा उच्च प्रविधिको प्रयोग गर्दै सुखी नेपाली समृद्ध नेपालको नारालाई साकार पार्न आवश्यक रहेको विचार व्यक्त गरे।
थाहाबाट