फागुन १९, २०७६ बुटवल :कोरोना भाइरसको त्रासमा प्रदेश ५ सरकारले वैशाख ४ र ५ गते गर्ने भनिएको लगानी सम्मेलन स्थगित हुने भएको छ। सोमबार बसेको प्रदेश मन्त्रपरिषद् बैठकले लगानी सम्मेलन स्थगित गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले बैठकपछिको पत्रकार सम्मेलनमा जानकारी दिए।
सम्मेलनको मिति तोकिसकिएको अवस्थामा बिभिन्न तयारी गरेको भए पनि कोरोनाको त्रासले रोक्नुपरेको उनले बताए। ‘सम्मेलनमा बाहिरी मुलुकका व्यक्तिहरू पनि आउनुपर्ने हुन्छ, त्यही भएर हामीले रोक्ने निर्णय गर्यौँ।’ उनले भने, ‘अब कहिले भन्ने अहिले नै भन्न सकिँदैन, कोरोनाको संसारभर प्रभाव कस्तो हुन्छ्, त्यहीअनुसार उपयुक्त समय मिलाएर पुनः मिति तोकिन्छ।’ विश्व स्वास्थ्य संगठनले नेपाल कोरोनाको उच्च जोखिममा रहेको बताइसकेको छ, सोही कारण उच्च सतर्कता अपनाउन थालिएको हो।
छिमेकी मुलुक चीनबाट फैलिएको कोरोना अहिल विश्वभरका ५० भन्दा बढी देशमा पुगिसकेको छ। यस्तै, स्वास्थ्य मन्त्रालयले मेला तथा भिडभाड नगर्ने निर्देशन दिएअनुरूप प्रदेश ५ का १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमाफर्त मेला महोत्सव नगर्न र पहिले दिएको स्वीकृति पनि बन्द गर्ने निर्णय भएको प्रवक्ता मन्त्री चौधरीले जानकारी दिए। केन्द्र सरकारले कोरोनाबाट बच्नको लागि प्रयासहरु थालनी गरेको बताउँदै नेपालमा त्रास नभएपनि संयमता आपनाउन लागेको उनको भनाइ छ।
थाहाबाट