प्रतिनिधिसभा बैठक आज

0
244
फाइल फोटो

माघ २८, २०७६ काठमाडौं  : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण लगातार स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न विधेयक र प्रतिवेदनहरु प्रस्तुत गर्ने संभावित कार्यसूची छ।

बैठक संचालन भएमा आज कारागार विधेयक २०७६ बैठकमा पेश हुनेछ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ्ले नेपाल इन्जिनियरिङ परिषद ९पहिलो संशोधन० विधेयक–२०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। बैठकमा कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले प्रमाण ९दोस्रो संसोधन० विधेयक सम्बन्धी समितिको प्रतिवेदन र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति पूर्णकुमारी सुवेदीले बिउ बिजन ९दोस्रो संशोधन० विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेश गर्नेछिन्।

बैठकले पहिलो संविधानसभा सदस्य सिद्धार्थकुमार सोमानीको निधनमा शोक प्रस्ताव पनि पारित गर्ने कार्यसूची रहेको छ। यसैबीच, बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल गर्न कांग्रेसको संसदीय दल कार्यसमितिको बैठक बस्दैछ। विहान साढे १० बजे सिंहदरबारमा बस्ने बैठकले आजको बैठक चल्न दिने नदिने भन्ने निर्णय गर्ने संसदीय दलकी सचेतक पुष्पा भुषालले जानकारी दिइन्। कांग्रेसले आफ्ना उपसभापति एवं संसदीय दलका उपनेता विजय गच्छदारमाथि अख्तियारले राजनीतिक प्रतिशोधका आधारमा भ्रष्टाचारको मुद्दा दर्ता गराएको भन्दै सदन र सडकमा आन्दोलन गर्दै आएको छ। हिजो बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले यो विषयलाई राजनीतिक रुपले प्रतिवाद गर्ने निर्णय गर्दै गच्छदार कानूनी रुपमा सामना गर्दै निर्दोष सावित हुने विश्वास व्यक्त गरेको छ। यसले कांग्रेसले आजको संसद बैठकको अवरोध हटाउने निर्णय गर्ने संकेत दिएको छ। धेरै विधेयक छलफल र पारित गर्न बाँकी रहेकाले कांग्रेस सांसदहरु नै संसद अवरोध लम्ब्याउन नहुने पक्षमा रहेका छन्। थाहाखबरबाट

SHARE