वायुसेवा निगममा ऋणको भार मात्रै पचपन्न अर्ब

0
27

असोज ३०,२०८३ काठमाडौँ : कुनै समय लन्डन, पेरिस र फ्य्राङ्कफर्टसम्म उडान गरेर अन्तर्राष्ट्रिय उड्डयन क्षेत्रमा नेपालको पहिचान स्थापित गर्न सफल नेपाल वायुसेवा निगम दक्ष जनशक्तिको कमी, जहाज अभाव र ऋणको भार थपिएका कारण सङ्कटतिर धकेलिँदै गएको छ । बलियो, स्पष्ट र सुदृढ व्यावसायिक कार्यदिशा प्रभावकारी कार्यान्वयनले मात्र राष्ट्रिय ध्वजावाहकलाई गौरवको लयमा पुनः फर्काउन सक्ने छ ।

समयक्रमसँगै वित्तीय अनुशासन, संस्थागत नेतृत्व र व्यावसायिक रणनीतिमा देखिएको कमजोरीले सङ्कट गहिरिँदै गएको हो । निगमको यो अवस्था एकै दिनमा आएको नभई विभिन्न कालखण्डमा सरकार परिवर्तनसँगै हुने राजनीतिक हस्तक्षेप, व्यवस्थापकीय कमजोरी, जहाज खरिद काण्ड, कर्मचारीतन्त्र र कमजोर प्रतिस्पर्धाका कारण संस्थागत क्षमता घट्दै जाँदा आएको उड्डयन क्षेत्रका जानकारको धारणा छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरत्न मानन्धरले निगमभन्दा पछि स्थापना भएका विदेशी हवाई कम्पनीहरू थाई एयरवेज, क्याथेप्यासेफिक र सिङ्गापुर एयरलाइन्सलगायतले बजारको माग, गन्तव्य विस्तार र गुणस्तरमा सुधार गरेर प्रतिष्ठित एयरलाइन्स बनिसक्दा निगम भने सञ्चालन खर्च र व्यवस्थापनकै चुनौतीमा अल्झिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “निगम अहिले थला ९आइसियुमा रहेको बिरामी जस्तै० परेको अवस्थामा पुगेको छ । यो गल्ती वर्तमान सरकारबाट नभएर विगतका सरकारले निगमलाई प्राथमिकता नदिएर भएको हो । यसको उपचार के हो र उपचार कसरी गर्ने भन्नेबारे वर्तमान सरकार र नेतृत्व जानकार छ । रोगको उपचार लगानीकर्ता वा साझेदार खोजेर स्रोतको व्यवस्थापनमार्फत छिटो गर्नु जरुरी छ । निगमलाई पुरानै अवस्थामा फर्काउन सरकारले नै लगानी गर्ने, नयाँ लगानीकर्ता खोज्ने, सार्वजनिक–निजी साझेदारीमा जाने वा मर्जमा जानेलगायतका सम्भावना हेरेर निगमलाई डुब्नबाट जोगाउनु पर्छ ।”

निगममा अहिले पनि साना प्राविधिक कारणले उडान व्यवस्थापन भद्रगोल हुने गरेको बताउँदै उहाँले निगममा दक्ष जनशक्ति टिकाउने, नयाँ जनशक्ति तयार गर्ने, सुशासन कायम गर्ने जस्ता कार्यले कहिल्यै प्राथमिकता नपाएको जनाउनुभयो ।

रणनीतिक साझेदारी आवश्यक

नेपाल राष्ट्र बैङ्कका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले निगमको संरचना तथा व्यवस्थापकीय सुधारका लागि जहाज थप्नेदेखि व्यवस्थापन सुधार, प्रभावकारी आन्तरिक लेखा परीक्षण, संस्थागत सुशासन कायम गर्ने र यथार्थपरक व्यावसायिक कार्ययोजना बनाउन र अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसँग रणनीतिक साझेदारी गर्न आवश्यक रहेको सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “निगम सुधारका लागि मेरै संयोजकत्वमा गठित निगमको संरचना तथा व्यवस्थापकीय अध्ययन तथा सिफारिस समिति १० औँ समिति थियो तर त्यसअघि र त्यसपछि बनेका थप दुईरतीन वटा अध्ययन समितिले दिएका सुझाव निगम र मन्त्रालयका दराजमा थन्किएका छन् । बजारको माग अनुसार जहाज थप्नुपर्ने, निगमको बाँकी बक्यौता उठाउनुपर्ने र १० वर्षीय जहाज थप योजना कार्यान्वयनमा लैजानुपर्नेलगायतका सुझाव कार्यान्वयन हुन नसक्दा जहाज अभाव, ऋणभार र कमजोर सञ्चालन क्षमता अहिले पनि मुख्य समस्या बनेको छ ।”

निगमको संरचनागत सुधारका लागि विभिन्न समयमा बनेका अध्ययन समितिले दिएका सुझावको कार्यान्वयनमा निगम चुक्दा धराशायी बन्दै गएको जनाउँदै उहाँले व्यवस्थापनलाई व्यावसायिक बनाउन र आन्तरिक गन्तव्य विस्तारका लागि साना जहाज खरिद गर्न सरकारले निर्णय लिनुपर्ने औँल्याउनुभयो ।

कालो सूचीबाट हटाउन पहल

निगमलाई उकास्न युरोपेली सङ्घको कालो सुचीबाट हटाउन सरकारले तत्काल पहल गर्न आवश्यक रहेको बताउँदै उहाँले उक्त गन्तव्यमा उडान भर्ने र स्वदेशका सुगम र दुर्गम क्षेत्रमा उडान भर्ने साना जहाजको समेत व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । निगमका पूर्वनिर्देशक अच्युतराज पहाडीले असक्षमता, वाइडबडी र चिनियाँ जहाज खरिद तथा कमिसन र भ्रष्टाचारलगायतका कारण संस्था थला पर्ने अवस्थामा पुगेको धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, “अहिले निगम ५५ अर्ब हाराहारी ऋणमा डुबेको छ । विदेशी वायुसेवा कम्पनी र आन्तरिकतर्फका निजी वायुसेवा कम्पनीले आम्दानी बढाइरहँदा निगममा चुस्तदुरुस्त, सेवाग्राहीमैत्री र व्यावसायिक रूपमा आत्मनिर्भर हुन नदिने रोगले जरा गाडेको छ । करिब १३५ अर्ब हाराहारी रुपियाँको नेपाली हवाई बजारमा निगमको हिस्सा करिब १५ देखि १६ प्रतिशत मात्रै रहेको र बाँकी हिस्सा विदेशी एयरलाइन्सले लैजाँदा पनि राज्यको प्राथमिकतामा पर्न सकेको छैन ।”

उहाँले जहाज खरिद र सञ्चालनमा अर्बौं रुपियाँको निर्णय गर्न सक्ने राज्य र निगमले उडान सञ्चालनका लागि आवश्यक जनशक्ति व्यवस्थापनमा भने दीर्घकालीन योजना बनाउन नसक्नु, व्यावसायिक योग्यता, अनुभव र स्पष्ट कार्यसम्पादन क्षमता भएका विज्ञ व्यक्ति नेतृत्वमा नपुग्नु र नेतृत्व परिवर्तनसँगै हुने नीति परिवर्तनले निगममा सुधारका सङ्केत नदेखिएको जनाउनुभयो ।

महसुस गर्ने गरी सुधार अपरिहार्य

निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले भने जनताले महसुस गर्ने गरी सुधारका काम अघि बढाउन संरचनागत सुधार, ब्याजदर पुनरवलोकन र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बन्न फ्लाइट विस्तार तथा आधुनिकीकरण अपरिहार्य रहेको जनाउनुभयो । उहाँले भन्नुभयो, “निगमको वर्तमान अवस्थामा सुधार ल्याउन र वित्तीय रूपमा सक्षम बनाउन नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषसँग लिइएको ऋणको ब्याजदर पुनरवलोकन गर्न, संरचनागत सुधार र व्यावसायिक दक्षतामा जोड दिन आवश्यक छ । विगतका अध्ययन तथा सुझाव समितिले दिएका सुझावलाई नीतिगत तहबाटै कार्यान्वयनमा लैजाने, प्राविधिक जनशक्ति व्यवस्थापन र जहाजलाई नियमित उडानयोग्य बनाउन मर्मतसम्भार प्रणालीलाई प्रभावकारी बनाउन ठोस कार्ययोजनासहित अघि बढाउँदै छौँ ।” मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यले ऐतिहासिक गरिमा बोकेको संस्थालाई प्राथमिकतामा राखेर रूपान्तरण गर्नु पर्छ भन्ने दिशामा सचेत र सक्रिय भएर मन्त्रालयले चासो दिइरहेको बताउनुभयो ।गोरखापत्र

SHARE