जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु

0
22

असोज २९,२०८३ जाजरकोट : जाजरकोटको जुनिचाँदे गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । बिहीबार बिहान करिब २ बजे जुनिचाँदे गाउँपालिका–२, गैरीगुवास्थित भित्री सडकखण्डमा सुर्खेतबाट जुनिचाँदे आउँदै गरेको कर्णाली प्रदेश ०२००१ च १२४३ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो ।

दुर्घटनामा जिप चालक जुनिचाँदे गाउँपालिका–९, कल्ली स्यालाका करिब २० वर्षीय सन्तबहादुर बस्नेत र जुनिचाँदे गाउँपालिका–३, स्यालाका दिलबहादुर भण्डारीकी श्रीमती करिब ३० वर्षीया बिपना भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक बुद्धिसागर पुरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा दिलबहादुर भण्डारी, उनका करिब चार वर्षीय छोरा शिशिर भण्डारी र जुनिचाँदे गाउँपालिका–३, स्यालाकी करिब ५० वर्षीया सितला टमटा घाइते भएका छन् ।

घाइते तीनै जनाको अवस्था मध्यम रहेको र उनीहरूलाई उपचारका लागि प्रदेश अस्पताल, सुर्खेत लैजाँदै गरिएको प्रहरीले जनाएको छ । जिप सडकबाट करिब तीन सय मिटर तल खसेको प्रहरी नायब उपरीक्षक पुरीले बताउनुभयो ।

SHARE