
असोज २८,२०८३ : दसैँलाई लक्षित गरी चीनको तिब्बत हुँदै लिजी–नेचुङ कोरला नाकाबाट नेपाल भित्र्याइएका ठुलो सङ्ख्याका विद्युतीय सवारीसाधन (ईभी) उपल्लो मुस्ताङमै रोकिएका छन् । बाढीपहिरो र नदी कटानका कारण बेनी–जोमसोम–कोरला सडक क्षतिग्रस्त भएपछि सडक हिलाम्मे र जोखिमपूर्ण बनेको छ । त्यसका कारण लोमान्थाङ गाउँपालिका–४, नेचुङस्थित मुस्ताङ भन्सार कार्यालय तथा कोरला नाका क्षेत्र र आसपासका स्थानमा गरी साढे सात सयभन्दा बढी ईभी रोकिएका हुन् ।
कोरला नाका तथा भन्सार कार्यालयबाहेक लो–घेकर दामोदरकुण्ड गाउँपालिका–१, चराङमा ४० वटा, जोमसोमस्थित ट्राफिक कार्यालयमा ३५ वटा, जोमसोम बसपार्कमा १२५ वटा र घाँसामा २५ वटा ईभी रोकिएका छन् ।
मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुँडालका अनुसार भन्सार जाँचपास भइसकेका सवारीसाधनसमेत सडकको अवस्थाका कारण खरिदकर्ताले रोकेर राखेका छन् । उहाँले भन्नुभयो, “अहिलेकै अवस्थामा ईभी गुडाउन सकिने अवस्था छैन । त्यसैले रोकिएको छ । चीनबाट सवारीसाधन आउने क्रम जारी छ । भन्सारको राजस्वमा पनि ईभीको ठुलो हिस्सा रहेको छ ।”
सदरमुकाम जोमसोमदेखि घरपझोङ, वारागुङ मुक्तिक्षेत्र, लो–घेकर र लोमान्थाङका विभिन्न क्षेत्र हुँदै समुद्री सतहबाट चार हजार ६५० मिटर उचाइमा रहेको कोरला नाकासम्मको ११९ किलोमिटर सडकखण्डको अवस्था तुलनात्मक रूपमा सामान्य छ । तर, जोमसोम–बेनी खण्डको ७९ किलोमिटरमध्ये करिब २२ किलोमिटर सडक मर्मत गरिएको क्षेत्रमा समेत साना सवारीसाधन हिलोमा फस्ने जोखिम छ । नयाँ सवारीसाधनमा क्षति पुग्न सक्ने भएकाले खरिदकर्ताले गन्तव्यतर्फ लैजान रोकेको कोरला नाका कन्टेनर व्यवस्थापन समितिका उपाध्यक्ष घरचुङ गुरुङले बताउनुभयो ।
पर्वतको कुश्मा नगरपालिका–१, पाङदेखि म्याग्दीको बेनी हुँदै चीनको सीमामा रहेको कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकको कुल दूरी करिब २०२ किलोमिटर छ । उक्त सडकखण्डको करिब २२ किलोमिटर क्षेत्रमा ईभी हिलोमा फस्ने जोखिम रहेकाले सडक सहज नहुँदासम्म खरिदकर्ताले सवारीसाधन भन्सार क्षेत्रमा नै रोकेर राखेका छन् ।
समुद्री सतहबाट चार हजार ६५० मिटर उचाइमा रहेको कोरला नाकाबाट करिब १४ किलोमिटर तल रहेको भन्सार कार्यालयमा सवारीसाधन ल्याएर जाँचपास गरिन्छ । त्यसपछि करिब १८६ किलोमिटर दूरीको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक हुँदै पोखरातर्फ लैजाने गरिन्छ ।
सडक एकतर्फी रूपमा सञ्चालनमा रहे पनि हिलो जमेको र अवस्था जोखिमपूर्ण भएकाले सवारीसाधन गन्तव्यसम्म पुर्याउन नसकिएको हो । दसैँलाई लक्षित गरी ल्याइएका ईभी करिब दुई सातादेखि भन्सार क्षेत्रमै रोकिएका छन् । अब दसैँपछि मात्रै सवारीसाधन लैजाने तयारी रहेको नेपालका ईभी बिक्रेताका भन्सार प्रतिनिधिहरूले बताएका छन् ।
कालीगण्डकी सडक आयोजनाका प्रमुख तेजस्वी शर्माका अनुसार सडकलाई तत्काल एकतर्फी रूपमा सञ्चालनमा ल्याएर मर्मतको काम भइरहेको छ । तर, साना सवारीसाधनलाई आवतजावत गर्न अझै समस्या छ । उहाँले भन्नुभयो, “बाढीपहिरो र नदी कटानका कारण भत्किएका सडकमा नयाँ ट्र्याक खोलिए पनि आवतजावत सहज बनाउन समय लाग्छ ।”
चाडपर्वलाई लक्षित गरी भन्सारबाट ल्याइएका सामान बोकेका कन्टेनर, स्याउलगायतका सामग्री तथा मुस्ताङमा रहेका सवारीसाधन पठाउने काम सकिएकाले अब सडक मर्मतका लागि समयतालिका सार्वजनिक गरेर सडक बन्द गर्नुपर्ने आयोजना प्रमुख शर्माले बताउनुभयो । मुस्ताङ भन्सार कार्यालयमा ठुला कन्टेनरको जाँचपास भइसकेको र ती कन्टेनर फर्किसकेको उहाँले जानकारी दिनुभयो । गोरखापत्रबाट













