अर्घाखाँचीको बाँझो बारीमा लटरम्म किवी खेती

0
38

असोज २५,२०८३ अर्घाखाँची : कुनै समय खेतीपातीबाट आम्दानी नहुने भन्दै बाँझै छाडिएको अर्घाखाँचीको मालारानी गाउँपालिका–९, गोखुङ्गाको कालुकाठेमा अहिले किवीका बोट लटरम्म फलेका छन् । बाँझो पाखोमा सुरु गरिएको किवी खेती व्यावसायिक उत्पादनमा परिणत भएपछि स्थानीयमा गाउँमै कृषि उद्यम गर्न सकिन्छ भन्ने विश्वाससमेत बढेको छ ।

स्थायी शिक्षकको जागिर छाडेर राजनीति, होटेल तथा यातायात व्यवसायमा संलग्न रहेका पदम क्षेत्रीले छ वर्षअघि कालुकाठेमा किवी खेती सुरु गर्नुभएको हो । उहाँले ४१ रोपनी जग्गा खरिद गरी स्थानीय कृष्ण पौडेल र जीवलाल पौडेललाई साझेदार बनाएर मालारानी कृषि तथा पशुपन्छी फार्म सञ्चालन गर्नुभएको छ ।

गत वर्ष फार्मबाट करिब ३० क्विन्टल किवी उत्पादन भएको थियो । क्षेत्रीले त्यसबाट करिब नौ लाख रुपियाँ आम्दानी भएको बताउनुभयो । यस वर्ष उत्पादन दोब्बरभन्दा बढी हुने उहाँको अनुमान छ । “सुरुमा कस्तो हुन्छ भन्ने अन्योल थियो, अहिले बोटमा पातभन्दा धेरै फल देखिन थालेको छ,” उहाँले भन्नुभयो, “गाउँमै केही गर्न सकिन्छ भन्ने विश्वास बढेको छ ।”

क्षेत्रीले दोलखाबाट किवीका बिरुवा ल्याएर सुरु गरेको खेतीमा हालसम्म करिब एक करोड रुपियाँ लगानी भइसकेको बताउनुभयो । पर्याप्त सिँचाइ, माटो परीक्षण, गोबर मलको प्रयोग तथा रोगकिराको नियन्त्रणमा ध्यान दिएकाले उत्पादन बढ्दै गएको उहाँको भनाइ छ । यस वर्ष ६० क्विन्टलभन्दा बढी किवी उत्पादन हुने अनुमान गरिएको छ । किवी खेतीसँगै फार्ममा चार वटा भैँसी, कुखुरा र बाख्रासमेत पालिएको छ । कृषि उत्पादनलाई विविधीकरण गर्दै लैजाँदा आम्दानीका थप स्रोत सिर्जना हुने क्षेत्रीको भनाइ छ ।

उत्पादन बढेसँगै फार्मले किवीको बजार व्यवस्थापन र ग्रेडिङमा समेत ध्यान दिन थालेको छ । यहाँ उत्पादित किवी सन्धिखर्क, बुटवललगायतका बजारमा पठाउने तयारी गरिएको छ । बजारमा किवी प्रतिकिलो दुई सयदेखि तीन सय रुपियाँसम्ममा बिक्री हुने गरेको क्षेत्रीले बताउनुभयो ।

किवी खेती सुरु भएपछि कालुकाठेमा अन्य कृषकसमेत व्यावसायिक खेतीतर्फ आकर्षित हुन थालेका छन् । स्थानीयले बाँझो जमिनमा किवीका बिरुवा लगाउन थालेका छन् । यसले गाउँमा कृषि गतिविधि बढाउनुका साथै स्थानीयस्तरमै रोजगारीको अवसरसमेत सिर्जना गर्न थालेको छ । फार्मका साझेदार कृष्ण पौडेल शिक्षण पेसासँगै किवी बगैँचाको रेखदेखमा सक्रिय हुनुहुन्छ । शिक्षण पेसाबाट अवकाश लिएपछि किवी खेतीलाई मुख्य पेसा बनाउने उहाँको योजना छ ।

“गाउँमा केही छैन भनेर सहर वा विदेश जानु पर्छ भन्ने होइन,” क्षेत्रीले भन्नुभयो, “सम्भावना खोजेर मेहनत गर्ने हो भने गाउँमै आम्दानी र रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने उदाहरण देखाउन चाहन्छु ।”

कृषि ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख बुद्धिराज घिमिरेले गोखुङ्गा, खनलगायतका क्षेत्रमा किवी खेती गर्ने कृषकको सङ्ख्या बढेको बताउनुभयो । उहाँका अनुसार किवी खेती विस्तारका लागि कृषकलाई खेती प्रविधिसम्बन्धी जानकारी, तालिम तथा आवश्यक कृषि औजार उपलब्ध गराउने काम भइरहेको छ । गोरखापत्रबाट

SHARE