
तिलाचन पाण्डे
असार १८,२०८३ गुल्मीः विगतका वर्षहरुमा जिल्ला भित्र र वाहिरबाट सुन्तलाका बिरुवा खरिद गरी कृषकलाई वितरण गर्ने गरेको गाउँपालिकाले यस वर्ष भने आफनै नर्सरीका विरुवा वितरण गर्ने भएको छ ।
गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिकाले यस वर्ष आफनै नर्सरीमा उत्पादन गरेका सुन्तलाका बिरुवा कृषकहरुलाई वितरण गर्ने गरी योजना बनाएको छ ।
गाउँपालिकाका कृषि अधिकृत सुशिल पाण्डेका अनुसार यस वर्ष पालिका भित्र सुन्तलाका बिरुवा लगाउने कृषकहरुका लागि प्रर्याप्त मात्रामा बिरुवा आफनै नर्सरीमा भएकाले बिरुवा बाहिरबाट ल्याउन नपर्ने बताउनुभयो ।

पालिकाको नर्सरी वडा नम्वर तीनको लम्सराङमा करिव १२ हजार सुन्तलाका बिरुवा लगाउन योग्य भएकाले यस वर्ष वाहिरबाट ल्याउन नपर्ने बताउनुभयो । गर्त वर्ष मात्रै पालिकाले पालिका बाहिरबाट सात हजार सुन्तलाका बिरुवाहरु खरिद गरी कृर्षकहरुलाई वितरण गरेको थियो । यस वर्ष अहिले कृषकहरुबाट सुन्तला, कागती र अन्य फलफूलका बिरुवाहरुको माग गरिएकाले सुन्तलावाहेक अन्य प्रजातीका बिरुवाहरु जिल्ला वा जिल्ला बाहिरबाट खरिद गरेर ल्याउनुपर्ने पाण्डेको भनाइ छ ।
यसैविच पालिकाले बाँझो जग्गा सदुपयोग गरी फलफूलका बिरुवा लगाउने कृषकलाई अनुदान दिने नीति बनाएको छ ।
गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाका अनुसार पछिल्लो समयमा उत्पादन योग्य जमिन यसै बाँझो हुँदै गएपछि उक्त जग्गाको सदुपयोग गर्नका लागि यस्तो नीति लिएको बताउनुभयो । बाँझो जग्गामा फलफूलका बिरुवा रोप्नका लागि प्रति खाडल चारसय रुपियाँ अनुदान र फलफूलका बिरुवा पालिकाले अनुदान स्वरुप उपलब्ध गराउने भएको छ ।
पछिल्लो समयमा जङगली जनावरले सताउने गरेपछि खेतीयोग्य जमिन यसै खेर गइरहेकाले यसको विकल्पको रुपमा यस्तो नीति लिइएको थापाको भनाइ छ । यसका कारण बाँभिएको जग्गाको सदुपयोग हुने र रोजगारको पनि सिर्जना हुने थापाको दाबी छ । यस कार्यका लागि बजेटको अभाव हुन नदिनका लागि एक करोडसम्म ब्यबस्थापन गरेको थापाले बताउनुभयो ।
अहिले कालीगण्डकीका कृषकहरुले बाँझो जग्गामा खाडल खन्ने काम धमाधम गरीरहेको पालिकाको कृषि शाखाले जनाएको छ । पालिकाले खाडलको लम्बाइ, चौडाइ र गहिराइ एक—एक मिटरको हुनेपर्नेे मापदण्ड तयार गरेको छ । पालिकाले आफै तयार गरेको नर्सरीमा अहिले १२हजार सुन्तलाका बिरुवा तयार छन् भने कागती र एभोकार्डोका बिरुवाहरु खरिद गरी ल्याउने योजना बनाएको छ ।












