
असार १६,२०८३ गुल्मी : कालीगण्डकी करिडोरको गुल्मी खण्डमा रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ ।
गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी वद्रीनाथ गैह्रेले एक सूचना जारी गर्दै करिडोरको गुल्मी खण्डमा दैनिक पहिरो गइरहने र सो सडक खण्डमा सडक माथिबाट ढुंगा खसिरहने भएकाले राती ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको हो ।
जिल्ला सुरक्षा समितिको असार १५ को निर्णय अनुसार वर्षातको समय अवधिभर कालीगण्डकी गाउँपालिका वडा नम्वर एक हर्मिचौर मिर्मी जाने सडक चोकदेखि गुल्मी र बाग्लुङको सिमाना धुससम्म सो समय अवधिमा सवारी सञ्चालनमा रोक लगाइएको हो ।

रातको समयमावाहेक अन्य समयमा यात्रा गर्दा उच्च सतर्कता अपनाउन र कुनै समस्या परेमा विपद् उद्धार १४४९, नेपाल प्रहरी १०० र सशस्त्र प्रहरी वल १११४ वा नजिकको प्रहरी इकाइमा सम्पर्क गर्नसमेत अनुरोध गरिएको छ ।











