
गुल्मी : प्रेस सेन्टर नेपाल, जिल्ला शाखा गुल्मीले जिल्लाका सबै पालिकामा सुझाव पेश गरेको छ ।
आगामी आर्थिक बर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम र बजेटमा पत्रकार, संचारकर्मी एवं संचारमाध्यमका विभिन्न हीतका माग राख्दै पालिकामा सुझाव पत्र पेश गरिएको हो । जिल्लाको रुरुक्षेत्र, धुर्कोट, छत्रकोट, रेसुङ्गा र गुल्मीदरबारमा भौतिक रुपमै उपस्थित भएर सुझाव पत्र प्रदान गरिएको छ भने अन्य पालिकामा इमेलमार्फत सुझाव पत्र पेश गरिएको संगठनका जिल्ला अध्यक्ष हुमाकान्त पोखरेलले जानकारी दिनुभयो ।
पालिकाले संचार नीति ल्याउने र त्यसमा पालिका एवं जिल्लाका संचार माध्यमको विवरण संकलन, आर्थिक स्थिति, कर्मचारी संख्या, संचारमाध्यमको प्रभावकारिता लगायतका बिषय अध्ययन गर्ने र त्यसको आधारमा कार्यविधि बनाई अनुदानका कार्यक्रम संचालन गर्नुपर्ने सेन्टरको सुझाव रहेको छ । त्यसमा गुल्मी जिल्लालाई आधार बनाएर संचालन भइरहेका अनलाईनलाई समेत समेट्न आग्रह गरिएको छ ।

जिल्लामा स्नातक र स्नातकोत्तर अध्ययन गर्ने पत्रकारहरुलाई छात्रबृत्तीको व्यवस्था गर्नुपर्ने, स्थानीय पत्रकारहरुको निःशुल्क स्वास्थ्य र दुर्घटना बीमा गरिदिनुपर्ने, संचारमाध्यमको हकमा चट्याङ, हावाहुरी तथा प्राकृतिक विपत्तीबाट हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै संचारमाध्यमको सम्पत्ती बीमा गर्न सेन्टरले सुझाव दिएको अध्यक्ष पोखरेलले जानकारी दिनुभयो । त्यसैगरी संचारमाध्यमलाई उकरण खरिदमा अनुदानको व्यवस्था, विज्ञापन तथा सूचनाको लागि पालिकाभित्र संचालन भएका मिडियालाई पहिलो प्राथमिकता, पालिकाले प्रत्येक चौमासिक रुपमा पत्रकार सम्मेलनमार्फत कार्यसम्पादन विवरण सार्वजनिक गर्नुपर्ने, संचार क्षेत्रमा बिनियोजन भएको बजेट अन्य क्षेत्रमा खर्च गर्न नहुने एवं पत्रकारहरुको क्षमता अभिवृद्धिको लागि क्षमता विकाससम्बन्धि तालिमहरु संचालन गर्नुपर्ने लगायतका सुझाव प्रेस सेन्टर गुल्मीले दिएको छ ।
देश संघीय संरचनामा गइसकेपछि विकासका थुप्रै काम भएपनि सरकारले उचित ढंगले प्रचार गर्न नसकेको भन्दै अध्यक्ष पोखरेलले त्यस्ता गतिविधि बाहिर ल्याउने संचारमाध्यम आफै समस्यामा भएकोले उनीहरुको आर्थिक स्थितिलाई सुधार ल्याउने उदेश्यले सुझाव पत्र पेश गरिएको जानकारी दिए । अहिलेसम्म नीति कार्यक्रम ल्याएका पालिकाले आफुहरुले दिएकामध्ये केही सुझाव नीति कार्यक्रममा समेटेको पनि अध्यक्ष पोखरेलले बताउनुभयो ।
जनमुक्ति आन्दोलनका पक्षमा प्रचार आन्दोलनलाई संगठित गर्ने लगायतका प्रमुख उद्देश्य राखेर ०६१ पुसमा रोल्पाको इरिबाङमा युद्ध पत्रकारका रुपमा क्रियाशील जनपक्षीय पत्रकारहरुको राष्ट्रिय भेलाबाट गठन भएको पत्रकारहरुको संगठन नै हालको प्रेस सेन्टर हो । जनपक्षिय पत्रकारहरुको साझा संगठनको रुपमा स्थापित भएको प्रेस सेन्टरले पत्रकार, संचारकर्मी एवं संचारमाध्यमका हकहीत र अधिकारका बिषयमा निरन्तर आवाज उठाउदैँ आएको छ ।






