गुल्मीको स्थानीय ‘धुर्कोटे चामल’ बजारमा

0
124

अनिल खत्री
असार ३,२०८२ गुल्मीः गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका–६ स्थित सिस्तुङका कृषक मेघनाथ अर्यालले उत्पादन गरेको धानको चामल अब ‘धुर्कोटे चामल’ को नाममा ब्राण्डिङ गरी बजारमा पठाइएको छ ।
स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्दै व्यावसायिकिकरणतर्फ अघि बढाउने उद्देश्यले उक्त चामललाई ब्राण्डिङ, लेबलिङ तथा प्याकेजिङ गरी औपचारिक रुपमा बजारमा पठाइएको हो । २५ किलोग्रामको बोरामा प्याक गरिएको चामललाई धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले एक कार्यक्रमकाबीच चामल प्याकेजिङ कार्यको शुभारम्भ गर्नुभयो ।

यस कार्यमा धुर्कोट गाउँपालिकाको सक्रिय सहयोग तथा हेफर नेपालको प्राविधिक साथ रहेको बताइएको छ । २५ किलाको बोरालाई २ हजार ५ सयमा बेच्ने गरि मुल्य तयार गरिएको छ । स्थानीय धानको चामल भएकाले यसको माग धेरै रहेको उहाँको भनाइ छ ।

चामल प्याकिङ तथा बजारीकरण शुभारम्भ कार्यक्रममा जिल्लाका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले यस कार्यले कृषकहरूको आत्मविश्वास बढाउनुका साथै गाउँमै रोजगारी सिर्जना गर्ने र उत्पादनलाई व्यवस्थित तरिकाले व्यापारमा रूपान्तरण गर्न सहयोग पुग्ने बताउनुभयो ।

यो प्रयासले भविष्यमा धुर्कोट गाउँपालिकालाई चामल उत्पादनको ‘हब’का रूपमा चिनाउने मात्र नभइ राष्ट्रिय बजारमा पनि प्रतिस्पर्धा गर्न सक्ने क्षमताको विकास हुने उहाँको भनाइ छ । स्थानीय उत्पादनलाई ब्राण्डमार्फत पहिचान दिन सकिने उदाहरणीय पहलका रूपमा ‘धुर्कोटे चामल’ले अबको दिनमा कृषकहरूको भविष्य उज्यालो बनाउने अपेक्षा गाउँपालिकाले लिएको छ ।

कार्यक्रममा धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले धुर्कोटे चामललाई गाउँपालिकाको गौरवमूलक उत्पादनको रूपमा अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयो । स्थानीय स्तरमा उत्पादित वस्तुलाई पहिचान दिलाउँदै बजार विस्तार गर्ने यो प्रयासले कृषकको आयआर्जनमा टेवा पुग्नुका साथै कृषि क्षेत्रको प्रवद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको पोखरेलको भनाइ छ ।

अध्यक्ष पोखरेलले धुर्कोटे चामललाई गाउँपालिकाको एक पहिचानको रूपमा स्थापित गर्न सकिने भन्दै यसले कृषकहरूको जीवनस्तर उकास्न सघाउ पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।अब हामीले केवल उत्पादनमा सीमित भएर बस्न हुँदैन,उहाँले भन्नुभयो “बजारसम्म पु¥याउने, पहिचान बनाउने र उपभोक्तालाई गुणस्तरीय वस्तु दिन सक्ने स्थितिमा पुग्नुपर्छ, धुर्कोटे चामल त्यसको उदाहरण हो ।”

प्याकेजिङ प्रविधि, लेबल डिजाइन र बजार रणनीति निर्माणमा हेफर नेपालले आवश्यक सहयोग पु¥याएको जनाइएको छ । चामललाई नापतौल गुणस्तर विभाग लगायतका सरकारी प्रक्रिया पूरा गरेर बजारमा पठाइएको कृषक मेघनाथ अर्यालले बताउनुभयो ।
अर्यालका अनुसार अघिल्लो वर्ष यसक्षेत्रमै धेरै ४ सय मुरि धान उत्पादन गर्नुभएको थियो । उहाँले ‘धुर्कोटे चामल’को नामले बजारमा छुट्टै स्थान बनाउने आशा ब्यक्त गर्नुभयो ।

यसले गाउँमा कृषि व्यवसायिकरण र स्वरोजगार सिर्जनाको सम्भावनालाई थप सशक्त बनाउने देखिएको छ । स्थानीय उत्पादनलाई स्थानीय पहिचानसहित राष्ट्रिय बजारमा पु–याउने उद्देश्यले गरिएको यो प्रयास ग्रामीण अर्थतन्त्र सुदृढीकरणतर्फको महत्वपूर्ण पाइला मानिएको छ ।
अर्यालले आफ्नै करिब ७० रोपनी र भाडामा लिएको ४२ रोपनी क्षेत्रफलमा धान खेती गर्दै आउनुभएको छ । गाउँमा बाँझिदै गरेका खेतीबारि लिजमा लिएर अर्यालले व्यवसायीक रुपमा धान मकै उत्पादनलाई जोड दिनुभएको छ। गएको मंसिर महिनामा अर्यालले पहिलो पटक उत्पादन गरेको ४ सय मुरि धान प्रर्दशन समेत गरिएको थियो । पहाडी क्षेत्रमा एउटै कृषकले सयौं मुरि धान उत्पादन गर्ने कृषक पाइदैन । तर अर्यालले उत्पादन गरेर गुल्मीमै चर्चा कमाउनुभएको छ । उहाँले गरे हरेक कुराको सम्भव रहेको उदाहरणसमेत प्रस्तुत गर्नुभएको छ ।


जिल्ला स्थित विभिन्न कार्यालय र जनप्रनिधि बिच उत्पादित थान प्रर्दशन समेत गरिएको थियो । अर्को वर्ष मकैको आटो र कोदो उत्पादन र खरिद गरेर बिक्री गर्ने सोचमा रहेको उहाँले बताउनुभयो ।भैंसी पालन समेत गरेका अर्यालले उचित मलको प्रयोगले धान खेती पनि राम्रो हुँने गरेको बताउनुभयो । गुल्मीबाट बैदेशिक रोगजारिका लागि कोरियामा मेहनत पछि बुटवलमा १६ वर्ष बसेका अर्यालले शहरको सुख छोडेर भैँसी पालन र धान खेतीको व्यवसायलाई अगाल्दै आउनुभएको छ ।

धान खेतीसँगै अर्यालको फममा अहिले माहु भैँसी २२ वटा सहित ४२ वटा भारतबाट ल्याएका मुर्रा जातका भैँसी छन् । हाल यो फर्मबाट दैनिक १ सय लिटर भैँसीको दूध उत्पादन भइरहेको छ । तीन वर्ष पहिले एक करोड बढि लगानीबाट शुरु भएको व्यवसायबाट स्थानीय २० जनाले प्रत्यक्ष रोजगारी समेत पाएका छन् ।

SHARE