गणतन्त्र दिवस : गुल्मीमा वृक्षरोपणसंगै सरसफाइ गरिने

0
145

गुल्मी, जेठ १२ गते। गुल्मीमा गणतन्त्र दिवस २०८२ को अवसरमा वृक्षरोपणसंगै सरसफाइ गरिने भएको छ। यहि जेठ १४, १५ र १६ गते तीन दिनसम्म विभिन्न कार्यक्रमको आयोजना गरेर यस जिल्लामा गणतन्त्र दिवसलाई भव्य रुपमा मनाउन लागिएको जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीले जानकारी दिनुभयो।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षासहित प्राप्त उपलब्धिहरूलाई जनस्तरमा पुर्‍याउने गरी दिवसलाई रचनात्मक रुपमा मनाउन थालिएको उहाँले बताउनुभयो। १४ गते यस जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर-५, को वडा कार्यालय परिसरमा वृक्षारोपण गरिनेभएको छ। १५ गते यस जिल्लाको धार्मिक, ऐतिहासिक एवम् पर्यटकीय क्षेत्र रेसुङ्गामा अवस्थित रेसुङ्गा महापोखरी क्षेत्रदेखि रेसुङ्गा पार्कसम्म सरसफाइ गरिने उहाँले बताउनुभयो।

जेठ १६ गते जिल्लाका सम्पूर्ण सरकारी निकाय, संघ-संस्था र नागरिक घर घरमा साँझ दीप प्रज्वलन गरिने कार्यक्रम रहेको छ। नेपाली जनताको संघर्ष र बलिदानीबाट प्राप्त उपलब्धि सङ्घीय लोकतान्त्रिक गणतन्त्र भएको हुँदा गणतन्त्र दिवसलाई भव्य रुपमा मनाउने दायित्व र जिम्मेवारी सम्पूर्ण नेपाली जनताको भएको बताउनुभयो।

यस जिल्लामा गणतन्त्र दिवसलाई भव्य रुपमा मनाउन समन्वय प्रमुख खत्रीले सबैलाई आव्हान गर्नुभयो। तीनसम्म हुने कार्यक्रममा क्रियाशील राजनीतिक दल, सरकारी तथा गैरसरकारी संस्था र आम नागरिकलाई सहभागी हुन समेत उहाँले आग्रह गर्नुभयो।

SHARE