
तिलाचन पाण्डे
माघ २६,२०८१ गुल्मीः नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व मन्त्री वर्षमान पुनले राम्रो कार्य गर्दा प्रचण्ड नेतृत्वको सरकार ढलेको बताउनुभएको छ ।


नेकपा माओवादी केन्द्र चन्द्रकोट गाउँपालिकाको तेस्रो अधिवेशनको उद्घाटन गर्दै पुनले प्रचण्ड नेतृत्वको सरकारले सुशासनलगायतका कार्यहरु गर्दै गर्दा ढलेको उहाँको भनाइ छ । अनुसन्धानका निकायहरुले अनुसन्धान गर्दै गर्दा प्रचण्डको नाम कतै फेला परेपनि नछाड्न निर्देशन दिने प्रचण्ड मात्रै भएको उहाँले बताउनुभयो । बर्तमान सरकारले सत्तावाहिरका प्रतिपक्षलाई छानेर फरक दृष्टिकोणले हेर्ने गरेको उहाँको भनाइ छ ।
सत्तामा रहेका दलका नेता तथा कार्यकर्ताहरुलाई बचाउन लाग्ने र अरुलाई खोजीखोजी कारवाही गर्ने नियत गलत भएको उहाँले बताउनुभयो ।
वर्तमान सरकार विचौलियाको भरमा बनेको बताउँदै जनताको पक्षमा काम गर्न नसक्ने उहाँको भनाइ छ । प्रचण्ड नेतृत्वको सरकारले देशका भ्रष्ट्राचारीहरुलाई एकाएक जेल कोच्न थालेपछि आफूहरु पनि जुन सुकै समयमा जेलमा जान सक्ने भएकाले विचौलियाको भरमा सरकार ढालेको उहाँको दाबी छ ।

यस्तै लुम्बिनी प्रदेशका अध्यक्ष तथा पूर्व सामाजिक विकास मन्त्री सुदर्शन बरालले भ्रष्ट्राचारीहरुलाई जोगाउनका लागि बनेको सरकारले जनताको पक्षमा काम गर्नै नसक्ने ठोकुवा गर्नुभयो । राम्रो काम गर्दा सरकार ढलेको बताउँदै उहाँले काँग्रेस एमालेका धेरै नेता तथा कार्यकर्ताहरुलाई बचाउनका लागि बर्तमान सरकार गठन भएको उहाँको दाबी छ ।
सोही कार्यक्रममा मगर राष्ट्रिय मुक्ति मोर्चा गुल्मीको छैठौँ जिल्ला सम्मेनल पनि सम्पन्न भएको थियो ।