
माघ १४,२०८१ गुल्मीः धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङगा अवलोकनमा आन्तरिक तथा वाह्य पर्यटकहरुको वृद्धि भएको छ ।


यस आर्थिक वर्षको सुरुदेखी हालसम्म ५० हजार बढीले रेसुङगा क्षेत्रको भ्रमण गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले जानकारी दिनुभयो । नगरले स्थापना गरेको पर्यटन सूचना केन्द्रको अभिलेख अनुसार राजनीतिक दल, राष्ट्रिय स्तरका कलाकार, पत्रकार,ब्यवसायी, धर्म तथा पर्यटनमा रुची राख्ने धार्मिक तिर्थालु, आन्तरिक तथा वाहय पर्यटक गरी कुल ५० हजार बढीले यस क्षेत्रको अवलोकन गरेको तथ्याङकमा उल्लेख छ । नगरले सञ्चालन गरेको जाँउ हिँड रेसुङगा अभियान प्रभावकारी भएको बताउँदै यस अभियानलाई निरन्तरता दिएको नगरप्रमुख खिलध्वज पन्थीले बताउनुभयो ।
नगरले सञ्चालन गरेको जाँउ हिँड रेसुङगा अभियानले गर्जुरा पार्क,अर्जुन क्षेत्र , उनायचौरको ट्रि हाउस,धुर्कोटको विचित्र गुफा,भुवाने पार्क ,तम्घास थान मन्दिरमा चहलपहल बढेको बताउँदै आर्थिक गतिविधिहरु पनि चलायमान भएको उहाँको दाबी छ ।

यस क्षेत्रको विकास र प्रचार प्रसारका लागि नगरले पहिलो प्राथमिकता दिएर काम गरेकाले यस अभियानमा सबैको साथ आवश्यक रहेको उहाँको भनाइ छ । यस क्षेत्रमा गर्जुराको पानी ट्याङकीदेखी गर्जुरा पार्कसम्म जिपलाइन निर्माणको कार्य पनि अगाडि बढेकाले पर्यटकीय क्षेत्रमा थप टेवा पुग्ने नगरले विश्वास लिएको छ ।
एक करोड बढी राजस्व सङकलन
चालु आर्थिक वर्षको हालसम्म नगरपालिकाले एक करोड छ हजार ११४ रुपियाँ राजस्व सङकलन गरेको छ । यस आर्थिक वर्षमा एक करोड ८० लाख रुपियाँ आन्तरिक राजस्व उठाउने लक्ष्य लिएकोमा झण्डै ५६ प्रतिशत राजस्व सङकलन भइसकेको नगरपालिकाको आन्तरिक राजस्व शाखाले जनाएको छ ।