कृषकलाई सुन्तलाको जुस, जाम र जेली बनाउने तालिम प्रदान

0
45

तिलाचन पाण्डे
तम्घास,माघ ५ गते । सुन्तला कृषकहरुलाई जुस, जाम र जेली बनाउने तालिम प्रदान गरिएको छ ।

जिल्लाको कालीगण्डकी गाउँपालिकाले सुन्तला कृषकहरुलाई जुस,जाम र जेली बनाउने तालिम प्रदान गरिएको कालीगण्डकी गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।

कृषि प्राविधिक देववहादुर सुनारका अनुसार सुन्तला कृषकले बिक्री नभएका सुन्तलाहरुलाई सदुपयोग गर्न सकुन भन्ने उद्येश्यले जुस,जाम जेली बनाउने तालिमलाई प्राथमिकता दिएको बताउनुभयो । अहिले हर्मिचौर र अर्वेनीको माथिल्लो बस्तीका सुन्तला कृषक र जयखानी लम्सराङका कृषकहरुलाई उक्त तालिम प्रदान गरिएको सुनारले बताउनुभयो ।

सुन्तलालाई लामो समयसम्म बोटमै राख्न नसकिने भएकाले जुस, जाम र जेली बनाएर बजारमा पठाउन सक्दा राम्रो आम्दामी गर्न सक्ने भएकाले उक्त तालिम प्रदान गरिएको उहाँको भनाई छ । कृषकहरुलाई थप आर्थिक रुपमा सम्पन्न बनाउनका लागि लुम्बिनी प्रदेशको मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम र गाउँपालिकाको साझेदारीमा गरिएको कार्यक्रमले स्वरोजगार बनाउने गरी पालिकाले काम गरेको सुनारले बताउनुभयो ।

अहिले प्रदान गरिएको तालिमले समूह र सहकारी मार्फत जुस र जाम बनाई उत्पादित लोगोसहित बजारमा ल्याउने योजना रहेको कृषि शाखाले जनाएको छ । यसका साथै अन्य स्थानमा पनि तालिमहरु प्रदान गर्ने गरी आफूहरुले तयारी गरेको कृषि शाखाले जनाएको छ ।
तालिम प्रभावकारी भएको अर्वेनीका सुन्तला कृषक लक्ष्मीपति न्यौपानेले बताउनुभयो । यस्तै तालिमहरुलाई निरन्तरता दिन र कृषकका समस्याहरु बुझेर नीति निर्माण गर्नका लागि उहाँले पालिकालाई सुझावसमेत दिनुभएको छ ।

कालीगण्डकी गाउँपालिकाले सुन्तला लगाउनका लागि मापदण्ड अनुसार खाँडल खन्ने कृषकहरुलाई अनुदान दिने ब्यवस्था गरेको अध्यक्ष वेदबहादुर थापाले बताउनुभयो । यसका साथै कृषकले उत्पादन गरेका कृर्षी उपजलाई बजारीकरण गर्नका लागि पनि योजना बनाएको उहाँको दाबी छ ।

SHARE