रुरुक्षेत्रले ३५८ वर पिपलका बिरुवा रोपण गर्ने

0
69

तिलाचन पाण्डे
असार ६,२०८१ गुल्मीःरुरुक्षेत्र गाउँपालिकाले ३५८ वर पिपलका बिरुवा रोपण गर्ने भएको छ । गाउँपालिकाको वार्षिक स्विकृत कार्यक्रम अन्र्तगत टोलविकास संस्थामार्फत वर पिपलका बिरुवाहरु रोपण गर्नेलाई प्रतिबिरुवा दुई हजारका दरले प्रदान गर्ने कार्यक्रम रहेको प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षमा धार्मिक तथा पर्यावरणीय तवरले महत्वपूर्ण रहेका ३५८ वर पिपलका बिरुवा रोपण गर्ने स्विकृत कार्यक्रम रहेकाले त्यसको कार्यन्वयन गर्ने चरणमा रहेको पाण्डेको भनाई छ । वडा नम्वर एकको रुरु टोलविकास संस्थाले १०८ बोट वर पिपलका बिरुवा रोपणका लागि सम्झौता गरिसकेको र अन्य संस्थाहरुले पनि सम्झौता गरि कार्यन्वयन गर्नका लागि सूचना प्रकाशन गरिएको पाण्डेले बताउनुभयो ।

खाडल खनेर वर पिपलका बिरुवा रोपण गरी मल जल राख्ने ब्यवस्था सोही रकमबाट हुने छ । बिरुवा संरक्षणका लागि फलामे जाली लगाएको तस्विर संलग्न गरी असार १२ गतेभित्र भुक्तानीका लागि पालिकामा पेश गर्नुपर्ने पालिकाले जनाएको छ ।

रुरुक्षेत्र धार्मिक क्षेत्र पनि भएकाले वर पिपलका बिरुवा रोपण गर्ने कार्यलाई अगाडि बढाएको गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिनुभयो । यसका साथै पर्यावरणीय रुपमा थप टेवा पुग्ने भएकाले यस्तो कार्य गरिएको उहाँको भनाई छ ।

गाउँपालिकाले प्रत्येक वडामा पाँच वटाका दरले सुक्खा पोखरी निर्माण गर्ने कार्यक्रम पनि अगाडि बढाएको छ । जलाधार संरक्षणका लागि सुक्खा पोखरी निर्माणले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले अभियानका रुपमा नै चलाएको ज्ञवालीले दाबी गर्नुभयो ।

 

पछिल्लो समयमा पानीका मुहानहरु सुक्दै जान थालेकाले त्यसको संरक्षणका लागि सुक्खा पोखरीले थप टेवा पुग्ने उहाँको दाबी छ ।

SHARE