रेसुङ्गा सरकारप्रति स्थानीयका गुनासै गुनासा

0
89

तिलाचन पाण्डे
चैत २५,२०८० गुल्मीः गुल्मीमा स्थानीय सरकारप्रति स्थानीयका गुनासै गुनासा ब्यक्त गरेका छन् ।  गुल्मीको रेसुंगा विमानस्थलबाट हुने उडानका लागि सहज रुपमा हवाई टिकट नपाएको र त्यसका लागि पहुँचवालाको मात्र हालीमुहाली हुने गरेको यहाँका स्थानीयहरुले गुनासो गरेका हुन् ।

 

रेसुंगा नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा वडा नम्वर ४का गोपालमणी शर्माले सहज रुपमा हवाई टिकटको ब्यबस्था नभएको गुनासो गरे । सहज रुपमा टिकटको ब्यबस्था नहुँदा सर्वसाधरणहरुले सेवा लिन नपाएको र पहुँचवालाको मात्र हाली मुहाली भएको गुनासो गरे ।
सीमित सिट हुने र सर्वसाधरणले सहज रुपमा अनलाईनबाट टिकट बुकिङ गर्न नसक्दा आफुहरुले सेवा लिन नसकेको स्थानीयहरुको गुनासो रहेको छ ।

 

यस्तै चन्द्रकान्त भण्डारीले पशुसेवाका कार्यहरुपनि ग्रामीण स्तरमा नपुगेको गुनासो गरे । उनले नगरपालिकाको कार्यालयमा मात्र कार्यक्रम सीमित नगर्न र ग्रामीण स्तरमा पनि कृषकहरु छन् भन्ने सोच्नका लागि आग्रह गरे ।

स्थानीय भोजेन्द्र भण्डारीले कृषकको उत्पादनलाई बजारीकरणको जिम्मा नगरपालिकाले लिनुपर्ने धारण राखे ।  कृषकले उत्पादन गरेका कृषि उपजलाई नगरपालिकाले खरिद गर्ने ब्यबस्था गरेमा कृषकलाई बजारको चिन्ता नहुने , उत्पादनमा केन्द्रित हुने र उत्पादनमा वृद्धि हुने उनको तर्क छ ।

यस्तै वडा नम्वर ४ की उजेली बिकले जंगली जनाबर बाँदर लगायतले खेतबारीमा लगाएको खेतीपाती  जोगाउनै समस्या भएका बताइन् । यही अवस्थामा बाँदरले गरीखान नदिने र उठीबास लगाउने  अवस्था आएकाले उचित ब्यबस्थापन गर्न उनले आग्रह गरिन् ।

सार्वजनिक सुनुवाई कार्यक्रममा शिक्षकहरुले मासिक रुपमा पारिश्रमिकको ब्यबस्थ ागर्न , दिवा खाजाको रकममा कमी भएको र बिद्यालय मर्च र दरबन्दी मिलानमा स्थानीय आवश्यकतालाई ध्यानमा राख्न सुझाब दिएका थिए ।

नेपाल नागरिक उड्यन प्राधिकरणसंग सहज रुपमा टिकटको ब्यवस्था गर्नका लागि आफूले पहल गरेको रेसुंगा नगरपालिकाका  प्रमुख खिलध्वज पन्थीले बताए ।  नागरिकहरुको समस्यालाई आफुले नजिकबाट नियालेको बताउँदै पन्थीले तत्काल समस्याको समाधान गर्ने दाबी गरे ।

नगरभित्रका नागरिकहरुलाई सहज रुपमा सेवा प्रवाह गर्न र कृषकलाई उत्पादनसंग जोड्नका लागि नगरपालिकाले योजना बनाएको उनको भनाई छ । जंगली जनावरको समस्या राष्ट्रब्यापी भएको भन्दै जसको समाधानका लागि संघीय सरकारले नै नीति बनाउनुपर्नेमा उनले जोड दिए ।

SHARE