गुल्मीमा छोरी जन्मे खातामा १० हजार, नागरिकता बनेपछी निकाल्न पाउने

0
157

तिलाचन पाण्डे
माघ ९,२०८० गुल्मीः गुल्मीको एक पालिकाले छोरी जन्मे छोरीको खातामा १० हजार रुपियाँ जम्मा गरिदिने नीति लिएको छ ।

जिल्लाको कालीगण्डकी गाउँपालिकाले पालिका भित्र छोरी जन्मिएमा छोरीको खाता खोलेर १० हजार रुपियाँ जम्मा गरिदिने नीति लिएको गाउँपालिकाले जनाएको छ ।

अहिले छोरीको खाता खोलेर अक्षयकोषको रुपमा १० हजार राखिदिने र उसको खाता रोक्का गरिदिने गरी योजना बनाएको स्वास्थ्य शाखाका प्रमुख चन्द्रबहादुर थापाले जानकारी दिए । अहिले राखिदिएको १० हजार रुपियाँबाट १५ वर्षपछी छोरीको नागरिकता बन्दा करिब ४० हजार रुपियाँ पुग्ने भएकाले उच्च शिक्षा हासिल गर्नमा थप टेवा पुग्ने गाउँपालिकाले विश्वास लिएको छ । छोरीको नागरिकता बनेपछी छोरीले उक्त रकम निकाल्न पाउँने भएकाले अन्य परिवारका सदस्यले निकाल्न नपाउने गरी कुमारी बैङकमा खाता खोल्ने र उक्त रकम जम्मा गरिदिने गाउँपालिकाले जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत नरेश गिरीले छोरीको खातामा १० हजार जम्मा गरिदिने नीतिलाई ब्यवहारमा लागु गर्न कार्यविधि बनाइ सकेको बताए । कार्यविधि पास भइ सकेकाले छोरीको खातामा रकम जम्मा गरिदिनका लागि कुनै कानूनी समस्या नभएको गिरीको भनाइ छ ।

गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाका अनुसार छोरी जन्मे भन्दा अझै पनि समाजमा फरक दृष्टिकोणले हेर्ने प्रचलन कायमै रहेकाले त्यसको अन्त्य गर्नका लागि यस्तो नीति लिइएकोे बताए ।
यसका साथै किशोरी अवस्थामा उच्च शिक्षा हासिल गर्न र अन्य केही योजनाहरु बनाएमा त्यसलाई सहयोग पुग्ने गरी काम गर्ने भएकाले १० हजार खातामा राखिदिने नीति बनाइएको थापाको भनाइ छ ।

गत आर्थिक वर्षमा गाउँपालिका भित्र करिव ४० जना छोरी जन्मिएको स्वास्थ्य शाखाको तथ्याङकमा छ । उनीहरुलाई गाउँपालिकाले पाँच हजारका दरले उपलब्ध गराएको थियो । सिधै पाँच हजार उपलब्ध गराउँदा यसको औचित्य नदेखिएकाले यसलाई अहिले परिमार्जन गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।

यस आर्थिक वर्षको हालसम्म पालिका भित्र २० जना छोरी जन्मिएको निवेदन प्राप्त भएकाले १० हजार जम्मा गरिदिने कार्य अन्तिम चरणमा पुगेको स्वास्थ्य शाखा प्रमुख थापाले बताए ।

पालिकाले उपाध्यक्ष कोशेली कार्यक्रम अन्र्तगत सुत्केरीलाई भेटन जाँदा भाले कोशेली लिएर भेटन जाने गरेको उपाध्यक्ष मञ्जुकुमारी दर्लामीले बताइन् ।

 

SHARE