गुल्मीका सात स्थानीय तहमा आफ्नै प्रहरी

0
102
रेसुङगा नगरपालिकाका नगर प्रहरीहरुलाई जिल्ला प्रहरी कार्यालय गुल्मीमा तालिम प्रदान पश्चात लिइएको सामुहिक तस्विर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
माघ ४,२०८० गुल्मी ः गुल्मीका सात स्थानीय तहले आफ्नै निजी प्रहरी भर्ना गरेका छन् । केही दिन अगाडि रुरुक्षेत्र गाउँपालिकाले पनि निजी प्रहरी भर्ना गरेपछि गुल्मी जिल्लाका सात स्थानीय तहमा निजी प्रहरी भएका हुन् ।

गाउँपालिकाले गाउँकार्यपालिकाको मातहतमा रहने गरी गाउँपालिकाको नगर प्रहरी ऐन २०७९ तथा नगरप्रहरी सञ्चालन सम्बन्धी कार्यविधि २०७९ अनुसार नगरप्रहरी भर्ना गरिएको रुरुक्षेत्र गाउँपालिकाका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो ।

नगरप्रहरी सहायक निरीक्षक एक जना र अन्य चार जना जवान रहने गरी नगरप्रहरी भर्ना गरिएको हो । जसमा सहायक निरीक्षक खुल्ला, एक जना प्रहरी जवान खुल्ला, अन्य तीन जना महिला, दलित, जनजाती, आदीवासी आरक्षणबाट भर्ना गरिएको गाउँपालिकाले जनाएको छ ।

नगरप्रहरी सहायक निरीक्षकको रासन सहित २० हजार ,जवानको १८ हजार पारिश्रमिक निर्धारण गरिएको पाण्डेले बताउनुभयो ।
यस्तै जिल्लाको मुसिकोट नगरपालिका ,रेसुङगा नगरपालिका, मालिका,इश्मा,धुर्कोट र सत्यवती गाउँपालिकाले यस अगाडि नै पालिका मातहतमा रहने गरी नगर प्रहरी भर्ना गरिसकेका छन् ।

रेसङुगां नगरपालिकाले २०७६ सालमा सातजना नगरप्रहरी नियुक्त गरेका मध्ये एकजना हवल्दारले बीचमै छाडेकाले अहिले सो पद खाली छ । बाँकी रहेका ६ जना जवान मध्ये दुई महिला र चार पुरुष छन् । उनीहरुले सदरमुकाममा ट्राफिक व्यवस्थापन, वातावरण सरसफाई, कार्यालय सुरक्षा, बजार अनुगमनलगायतका कार्य गरेका छन् ।

आवश्यक परेको खण्डमा जुनसुकै बेला नगरप्रहरी परिचालित हुने नगरपालिकाले जनाएको छ । नगरपालिकाले जवानको लागि मासिक १५ हजार पारिश्रमिक निर्धारण गरेको छ । त्यसबाहेक वार्षिक दुई सेट कपडा र रासन भत्ता स्वरुप मासिक तीन हजार पाँच सय उपलब्ध गराउने नगरपालिकाले जनाएको छ ।

जिल्लाको धुर्कोट गाउँपालिकाले सबैभन्दा पहिले २०७५ चैत १ गते पाचँजना नगरप्रहरी नियुक्त गरेको थियो । जसमध्ये दुई महिला र तीन पुरुष छन् । त्यसमध्ये पनि एकजनालाई प्रहरी सहायक निरीक्षकको दर्जा दिइएको छ ।

प्रहरी सहायक निरीक्षकको लागि २२ हजार र जवानको लागि १९ हजार पारिश्रमिक निर्धारण गरिएकोे गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिनुभयो ।

 

 

SHARE