कृषिमा पूर्ण यान्त्रीकरण गर्दै उत्पादन बढाउने योजना: मन्त्री भुसाल

0
122

दिवाकर पोख्रेल
कात्तिक ४,२०८० :कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.बेदुराम भुसालले खेतीप्रणालीलाई पूर्ण यान्त्रीकरण गर्दै उत्पादन बढाउने योजना सरकारले बनाएको बताउनुभएको छ ।

बाँझो जमिनमा समेत सिँचाइ सुविधा पु¥याएर खेती गर्न प्रोत्साहन गर्दै अघि बढेको सरकारले धान, मकै, गहुँ, तोरी, तरकारी सबैको उत्पादन बढाउनेगरी काम गरिरहेको मन्त्री भुसालले बताउनु भएको हो । दाङको लमहीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, मकै सुपरजोनले सञ्चालन गरेको कार्यक्रमको अनुगमन गर्दै उनले उत्पादन बढाउन कृषि क्षेत्रलाई पूर्ण यान्त्रीकरण गरिने बताउनुभयो ।

उहाँँले भन्नुुभयो,‘अब हलो, कुटो–कोदालोबाट खेती सम्भव छैन, जाने भनेकै यान्त्रीकरणमा हो’, मन्त्रीसरकारले पूर्ण यान्त्रीकरणको लागी कार्यक्रम सञ्चालन गरिरहेको छ ।’ मन्त्री भुसालले बाँझो जमिनलाई खेतीयोग्य बनाउन सिँचाइ सुविधा पु¥याउने कार्यक्रम पनि अघि बढाइएको बतानुभयो । यस्तै, किसानले राखेको अनुदानको रासायनिक मल समयमै नआएको गुनासोलाई सम्वोधन गर्दै उहाँले विस्तारै रासायनिक मलको समस्या समाधान हुँदै गएको बताउनुभयो ।

मन्त्री भुसालले भन्नुभयो,‘अनुदानको रासायनिक मलको समस्या समाधान हुँदै गएको छ, सरकारले मल ल्याएकै छ, वितरणमा सहजता ल्याउन सबैले भूमिका निर्वाह गर्नुपर्छ ।’ यस्तै, मन्त्री भुसालले लमही नगरपालिकाले बनाउन थालेको तरकारी संकलन केन्द्र र चिस्यान केन्द्रको शिलान्यास गर्नुभएको छ । उहाँले ठूलो कोल्ड स्टोर निर्माणको कार्यक्रम असफल भएको भन्दै चिस्यान केन्द्रलाई चेम्बर राखेर सानो आकारमा अघि बढाउन सुझाव दिनुभयो ।

प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले किसानले उत्पादन गरेका कृषि उपज र पशुधनको बजारीकरणको लागि संकलन केन्द्रले भूमिका खेल्ने बताउनुभयो । लमही नगरपालिकाका कार्यवाहक नगर प्रमुख लक्ष्मी योगीले किसानहरूले भोग्दै आएको बजारीकरणको समस्या समाधान गर्न काम अघि बढेको जानकारी दिनुभयो ।

 

तरकारी संकलन केन्द्र, बिक्री केन्द्र र चिस्यान केन्द्र बनाउन ठूलो लगानी लाग्ने अनुमानसहित डिपिआर बनाइएको छ । यस वर्ष १९ लाख २० हजार प्राप्त बजेटलाई कार्यान्वयन गर्न भवन बनाउन थालिएको छ ।

SHARE