गुल्मीमा हेफरद्धारा लम्पी स्किन रोग नियन्त्रण गर्न औषधि सहयोग

0
139

असोज ८ ,२०८०गुल्मीः पछिल्लो समयमा पशुहरुमा देशभर फैलिएको लम्पी स्किन रोगको नियन्त्रणका लागि एक संस्थाले औषधि सहयोग गरेको छ ।

जिल्लाको कालीगण्डकी, धुर्कोट र मालिका गाउँपालिकालाई हेफर इन्टरनेशनल नेपालले १८ प्रकारका औषधिहरु सहयोग गरेको कार्यक्रम अधिकृत नारायण भट्टराइले जानकारी दिनुभयो । जिल्लाका तीन स्थानीय तहमा एक एक लाख रुपियाँ बराबरका औषधि र शन्देशमुलक पर्चा ,पम्प्लेट सहयोग गरिएको भट्टराइले बताउनुभयोे ।

पशुहरुमा फैलिएको उक्त रोगलाई नियन्त्रण गर्नका लागि र विपद्मा स्थानीय सरकारसंग आफूहरु साथमा रहेको शन्देश प्रवाह गर्नका लागि सहयोग गरिएको निर्देशक डाक्टर तीर्थराज रेग्मीले बताउनुभयो । देशका २० भन्दा बढी स्थानीय तहलाई सहयोग गर्ने आफूहरुको योजना रहेको बताउँदै पहिलो चरण्मा गुल्मीका तीन स्थानीय तहलाई सहयोग गरिएको उहाँको भनाई छ ।

यता कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले प्राप्त औषधिले लम्पी स्किन रोगलाई नियन्त्रण गर्नमा ठूलो टेवा पुग्ने बताउनुभयो । स्थानीय सरकार लम्पी स्किन रोग नियन्त्रण गर्नका लागि प्राथमिकता साथ लागेको बताउँदै प्राप्त औषधिले थप टेवा पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।

जिल्लाका १२ वटै स्थानीय तहमा फैलिएको उक्त रोगका कारण जिल्लामा ३९० गाइगोरु मरेको र नौ हजार ४४७ पशुहरु संक्रमण भएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गुल्मीका डाक्टर मदन भण्डारीले जानकारी दिनुभयो ।

पहिले पशुहरुमा उच्च ज्वरो आउने ,कल्चौडादेखी शरिरका विभिन्न भागहरुमा गिर्खा आउने र पाक्ने जस्ता लक्षणहरु देखा पर्ने गरेको भण्डारीले बताउनुभयो । पशुहरुमा देखा पर्ने उक्त लक्षणहरुमा बिशेष गरी लामखुट्टे र झिंगाहरुबाट सर्ने गर्दछ ।
यो रोग विशेष गरी गाइगोरुमा देखा परेको र भैसीहरुमा बिरलै भएको भण्डारीको भनाई छ ।

दुध दिने गाईहरुमा उक्त रोग देखा परेपश्चात आधा जति दुधमा कमि आएको कार्यालयले जनाएको छ । लम्पी स्किप रोगको संक्रमणका कारण १० प्रतिशत पशुहरुको मृत्युदर हुने संभावना रहेको भण्डारीले बताउनुभयो ।

 

SHARE