२६ लाखसहित नेपालगञ्ज विमानस्थलबाट सरकारी कर्मचारी पक्राउ

0
93

भदौ २५,२०८० नेपालगंज :नेपालगञ्ज विमानस्थलबाट प्रहरीले २६ लाख नगदसहित एकजना सरकारी कर्मचारीलाई नियन्त्रणमा लिएको छ। एक जना फरार भएका छन्।

नेपालगञ्जबाट काठमाडौं आउन लागेका आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिए।

नेपालगञ्ज विमानस्थलको सुरक्षार्थ खटिएको प्रहरीको टोलीले सापकोटालाई सोमबार बिहान नियन्त्रणमा लिएको थियो। विमानस्थल प्रहरीकाअनुसार उनी बिहानको ८ः ४५ बजेको श्री एयरको उडानमा नेपालगञ्जबाट काठमाडौं जाने तयारीमा थिए। चेकजाँचको क्रममा अधिकृत सापकोटा र दिपक पौडेलसँग नेपाली २६ लाख रुपैयाँ बरामद भएको हो।

अर्को अधिकृत पौडेल भने फरार भएको बाँके प्रहरीले जनाएको छ। उनको खोजीको लागि अहिले विमानस्थल क्षेत्रमा व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ।

पक्राउ परेका सापकोटालाई अहिले जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको छ। बरामद भएको रकमको स्रोतबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

SHARE