
भदौ २४,२०८०काठमाडौं : सुन तस्करी प्रकरणमा आफ्ना सहकर्मीहरू धमाधम पक्राउ पर्न थालेपछि त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयका कर्मचारीहरू बचाउमा उत्रिएका छन्। सम्पूर्ण कर्मचारीले आइतबार कार्यालय प्रमुखलाई माग पत्र बुझाएर आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन्।
नेपाल प्रहरी, राजस्व अनुसन्धान विभाग लगायतका निकायले सुन तस्करी प्रकरणको अनुसन्धान गर्ने क्रममा अनावश्यक दुःख दिएको भन्दै उनीहरूले आज विरोधस्वरूप ३ घण्टा पेन डाउन गरेका छन्।
प्रमुख भन्सार प्रशासक बुझाएको माग पत्रमा अर्थ मन्त्रालय, मुख्य सचिव, राजस्व सचिव, अर्थसचिव‚ भन्सार विभागका महानिर्देशकलाई बोधार्थ दिँदै कर्मचारीहरूले भोलि र पर्सि विमानस्थलस्थित भन्सार कार्यालयको कार्गो जाँचपास शाखामार्फत हुने निकासी, पैठारीसम्बन्धी सम्पूर्ण काम बन्द गर्ने बताएका छन्।

पाँचबुँदे माग राखेका उनीहरूले २७ भदौभित्र माग सम्बोधन नभए कार्यालयको यात्रु जाँचपास शाखाबाट सम्पादन हुने कामसमेत प्रभावित हुन सक्ने चेतावनी दिएका छन्।
आन्दोलनबाट हुनसक्ने क्षति तथा यात्रुलाई पर्न जाने असुविधाका लागि सम्बन्धित पक्ष स्वयम् जिम्मेवार हुनुपर्ने र विरोधका कार्यक्रमहरू प्रकाशन गरिने उनीहरूले बताएका छन्।
कर्मचारीहरूले अनुसन्धानको नाममा निर्दोष कर्मचारीहरूलाई धरपकड गर्ने र पक्राउ गरी हिरासतमा लिने कार्य अविलम्ब बन्द हुनुपर्ने, निर्भीक रूपमा उच्च मनोबलका साथ काम गर्ने वातावरण हुनुपर्ने, बिनाप्रमाण थुनामा राखिएका सबैलाई रिहा गर्नुपर्ने माग राखेका छन्।
अनुसन्धान गर्ने निकायले केही कर्मचारीहरू गिरफ्तार गरी हिरासतमा रहेको अवस्थामा के कति कारणले गिरफ्तार गरेको होरु सो विषय कर्मचारी कार्यरत कार्यालयलाई समेत जानकारी नदिई अमानवीय तरिकाले गिरफ्तार गरेको आरोपसमेत लगाएका छन्।
गत २ साउनमा विमानस्थलबाट ६१ किलो सुन लुकाई ल्याएको ‘ब्रेक सु’ जाँचपास भए पनि विमानस्थलका कर्मचारीहरूले असल नियतले गरिएका दैनिक प्रशासनिक कामलाई समेत हतोत्साहित गर्ने वातावरण तयार गरिएको आरोप लगाउँदै आएका छन्।
यद्यपि उनीहरूले दोषी ‘कोही नछुटून्, निर्दोष नपरून्’ भन्ने कानुनको प्रचलित सिद्धान्तअनुसार अनुसन्धानमा पूर्ण प्रतिबद्धता भने रहने स्पष्ट पारेका छन्। थाहाबाट






