गुल्मीमा मातृत्व र पितृत्व ठेगान नभएका ६३ वर्षीय नेपालीलाई नागरिकता प्रदान

0
89

भदौ १७,२०८० गुल्मीःगुल्मीमा मातृत्व र पितृत्व ठेगान नभएका ६३ वर्षीय पूरुषलाई नागरिकता प्रदान गरिएको छ ।

हालसम्म मातृत्व र पितृत्त्व ठेगान नभएका रेसुङगा नगरपालिका वडा नम्वर ९ को चारीखोलामा बस्दै आएका ६३ वर्षीय बलबहादुर नेपालीलाई जिल्ला प्रशासन कार्यालय गुल्मीले नागरिकता प्रदान गरेको छ ।

वडाको सिफारिस र स्थानीयहरुको आग्रहको आधारमा स्थानीयहरुलाई साझी बसेको आधारमा नेपालीलाई नागरिकता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत नरेश गिरीले जानकारी दिए ।

लामो समयदेखी चारीखोलामा पार्वती नेपालीको संरक्षणमा बस्दै आउनुभएका बलबहादुरलाई पार्वती संरक्षक कायम गरी नागरिकता प्रदान गरिएको गिरीले बताए । राम्रोसंग बोल्न नसक्ने र खुट्टाले राम्रोसंग टेक्न नसक्ने बलबहादुरले नागरिकता प्राप्त गरेसंगै सामाजिक सुरक्षा भत्ताका लागि तत्कालै कार्य अगाडि बढाउने रेसुङगा नगरपालिका वडा नम्वर ९ का वडा अध्यक्ष कृष्णप्रसाद पाण्डेले जानकारी दिए ।


पछिल्लो समय जिल्ला प्रशासन कार्यालय गुल्मीले अपांगता भएका र जिल्ला प्रशासन कार्यालयमा नागरिकता प्राप्त गर्न आउन नसक्नेहरुका लागि घरमै गएर पनि नागरिकता प्रदान गर्दै आएको छ । सरकारको अनुभूति प्रदान गर्नका लागि घरमै गएर नागरिकता प्रदान गर्ने गरेको र त्यस्ता समस्या भएकाहरुलाई आगामी दिनहरुमा पनि घरमै गएर सेवा प्रवाह गर्ने गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केशीले जानकारी दिए ।

SHARE