युग परिवर्तन गर्ने नै माओवादी होः अध्यक्ष बराल

0
220

भदौ १६,२०८० प्युठान :युग परिवर्तन गर्ने नै नेकपा माओवादी केन्द्र रहेको नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले बताउनुभएको छ । शनिबार आज भूमे गाउँपालिका–२ खाबाङबगरमा आयोजित जनतासँग माओवादी केन्द्र भन्ने तीन महिने अभियानलाई सम्बोधन गर्दै अध्यक्ष बरालले यस्तो बताउनुभएको हो ।

अन्य पार्टीहरु परिवर्तन भन्दा पनि यथास्थितिमै रहेर जनतालाई नाटक देखाउँदै राजनीति गरिराखेको अध्यक्ष बरालले बताउनुभयो । तर नेकपा माओवादी केन्द्रले युग परिवर्तनका निम्ति राजनीति गर्दै सधैँ देश र जनताको भलाईको लागि काम गर्दै आएको उहाँले बताउनुभयो । जनयुद्धले हालको परिवर्तन नयाँ संविधान र जनताका मौलिक हक र अधिकार सुनिश्चित भएको बताउँदै बरालले भन्नुभयो “सरकारमा माओवादीले नेतृत्व गरेको समयमा केही न केही जनताको हितको लागि परिवर्तन गर्दै आएको छ ।”

अन्य पार्टीले नेतृत्व गर्दाको सरकारले केही पनि नयाँ काम नगरेको दाबी गर्दै अध्यक्ष बरालले थप्नुभयो, “हाल भ्रष्टचार विरुद्धको अभियान थलनी गर्दै अब देशमा सुशासन कायमका लागि अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले काम गर्दै आएको छ । त्यसमा स्थानीय र प्रदेश सरकार र आम माओवादी पार्टीका नेताकार्यकर्ताले सहयोग गर्दै जानुपर्छ ।” माओवादीले युग परिवर्तन गर्दै आएको स्मरण गर्दै अध्यक्ष बरालले अब माओवादीको काँधमा अब नयाँ युग परिवर्तन गर्नका लागि जनतासँग माओवादी पार्टीको तीन महिने अभियानबाट अघि बढ्नुपर्ने बताउनुभयो ।

यस्तै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामसुर बुढामगरले जनताको भावना अनुसार नेता जनतामै फर्किएर पार्टीका काम गर्नु पर्ने बताउनुभयो । जनता धेरै सचेत भइसकेको बताउँदै बुढामगरले भन्नुभयो, “उक्त जनताको चेतना अनुसार पार्टीले काम गर्दै जानुका साथै माओवादीबाट जननिर्वाचित प्रतिनिधिले जनताकै माग र आवश्यक्तालाई बुझ्दै काम गर्नु बाहेक अरु विकल्प हामी सामु छैन ।”

पार्टीको नेता भएर अब जनताले पत्याउने छैन त्यस कारण आम माओवादीका कार्यकर्ता जनताका नेता हुनु पर्ने बुढामगरले बताउनुभयो । जनता र पार्टीका कार्यकर्ताको भावना विपरित आफ्नो स्वार्थ लागेमा नेता मात्र नभइ पार्टी नै कमजोर भइरहेको उहाँको भनाइ रहेको छ । पार्टीलाई बलियो बनाउनका लागि नेतृत्व इमान्दार भई जनता र कार्यकर्ताको भावना अनुसार नेताहरु कममा लाग्नु पर्ने केन्द्रीय सदस्य बुढामगरले बताउनुभयो ।

भूमे गाउँ समितिका अध्यक्ष रुपधन कामीको अध्यक्षतामा भएको कार्यक्रम प्रमुख अतिथि लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बराल, विशेष अतिथिमा केन्द्रीय सदस्य रामसुर बुढामगरको रहेको थियो भने अन्य अतिथिमा लुम्बिनी प्रदेश सचिवालय सदस्य होमप्रकाश श्रेष्ठ, प्रदेश सदस्य जिताराम कामी र भूमे गाउँ समिति इञ्चार्ज धुव्रविक्रम ओलीको रहेकोमा कार्यक्रम सञ्चालन गाउँ समिति सचिव नारायण पुनमगरले गर्नु भएको थियो ।

SHARE