गुल्मीमा ढल्यो सरकारलाई खबरदारी गर्ने स्थल , संचालनमा आएन ६५ लाखको थ्रिडी पार्क

0
161
पहिलेको लाँकुरी मञ्च र अहिले निर्माण पश्चात नियमित संचालनमा नआएकोे थ्रिडी पार्कमा बालबालिकाहरु । तस्बिरः तिलाचन पाण्डे

तिलाचन पाण्डे
जेठ २६,२०८० गुल्मीः सरकारलाई खवरदारी गर्ने तम्घासको लाँकुरी मञ्चको नाममा प्रचलित स्थानमा रहेको लाँकुरी ढलेको करिव पाँच वर्ष भयो । त्यो समयमा गुल्मेली जनताले सरकारलाई खवरदारी गर्नका लागि सो मञ्चलाई प्रयोग गर्थे र नजिकै रहेको जिल्ला अदालत , जिल्ला प्रशासन ,जिल्ला समन्वय र सरकारी कार्यालयहरुले सहजै सुन्थे ।

तर त्यो लाँकुरी मञ्चमा रहेको लाँकुरीको रुख ढलेपछि यस स्थानमा रुख नरोपी थ्रि डी पार्क निर्माण गर्ने रेसुङगा नगरपालिकाका जनप्रतिनिधिहरुले निर्णय गरेर निर्माण भयो ।

निर्माण भएको लामो समयसम्म संचालनमा नआए पनि बीच बीचमा संचालनमा ल्याए जस्तो गरी झारा टाल्ने काम भयो । तर यस पार्क अहिले संचालनमा छैन ।

पार्कको गेटमा ताला लगाए पनि बालबालिकाहरुले बाहिरी भागबाट प्रवेश गर्ने र पार्कको संरचनामा मनलाग्दी चलेको छ । उनीहरुले पार्कको भित्री भागमा जम्मा भएको पानीमा पौडी खेल्ने र संरचनाहरुमा तोडफोड समेत गर्न थाल्दा नगरपालिकाले पार्क संरक्षणमा कुनै चेष्टा दिएको छैन् ।

२०७५ सालमा रेसुङगा नगरपालिका र लुम्बिनी प्रदेशको ५०÷५० प्रतिशत साझेदारीमा ५५ लाख र समय समयमा मर्मत गर्दा करिव १० लाख गरी ६५ लाख रुपियाँको लागतमा निर्माण गरिएको पार्क यसै अलपत्र छ । सो पार्कमा अहिले बालबालिकाहरुको संरचनामा मनलाग्दी रजाइँ चलेको छ । यसबाट सरकारी लगानी बालुवामा पानी भन्ने उखानलाई स्पस्ट पारेको देख्न सकिन्छ ।

पहिले लाँकुरी मञ्चको नाममा चिनिने सो स्थलको पहिचाननै अहिले गुमेको छ । लामो समय पार्कले आफ्नो पहिचान स्थापित गर्न नसक्नु र संरक्षणमा ध्यान नदिनु दुःखद पक्ष भएको नागरिक समाज गुल्मीका अध्यक्ष पदम पाण्डेले बताउनुभयो ।
उहाँले विभिन्न संघ संस्था, संगठन र दलहरुले सरकारको अगाडि उभिएर सरकारलाई नै खबरदारी गर्ने बर्षौको इतिहास बोकेको लाँकुरी मञ्च भत्काएर नौटंकी गरिएको आरोप लगाउनुभयो ।

पाण्डेले पार्कलाई पहिलेकै लाकुरी मञ्चमा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो।

यता रेसुङगा नगरपालिका प्रमुख खिलध्वज पन्थीले बनेको संरचनालाई संरक्षण गर्नु आफूहरुको दायीत्व भएको बताउनुभयो । उहाँले धेरै नगरबासीहरुले पहिलेको लाकुरी मञ्च चाहियो भनेर माग गर्नुभएको भन्दै बनेका संरचनाहरुलाई खेर फाल्न नहुनेमा जोड दिनुभयो ।
अघिल्लो जनप्रतिनिधिहरुले बनाएको पार्कलाई संचालनमा ल्याउन आफू तयार रहेको र नगरवासीहरुको मागलाई पहिलेकै जनप्रतिनिधिहरुले निर्माण गर्ने समयमा सोच्नुपर्ने उहाँको तर्क छ ।

 

 

SHARE