मालिका शैक्षिक सुधार वर्ष घोषणा

0
181

जेठ २,२०८० गुल्मीः गुल्मीको मालिका गाउँपालिकाले २०८० लाई शैक्षिक सुधार वर्ष घोषणा गरेको छ ।

शिक्षा क्षेत्रमा यस वर्ष उल्लेखनीय कार्य गर्ने योजनाका साथ शैक्षिक सुधार वर्ष घोषणा गरिएको गाउँपालिका अध्यक्ष देवीराम अर्यालले बताए ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गरि विद्यार्थीको उज्ज्वल भविष्य सुनिश्चित गर्ने र बसाइँसराइ रोक्ने उदेश्यका साथ शैक्षिक सुधार वर्ष घोषणा गरिएको अध्यक्ष अर्यालले उल्लेख गरे ।

के के छन् त योजना ?

शैक्षिक सुधार वर्ष घोषणालाई सफल बनाउन गाउँपालिकाले विभिन्न योजना अघि सारी काम गर्दै आएको छ ।
गाउँपालिका भित्र रहेका सबै तीन सय ५२ शिक्षकलाई उनिहरु तह,विषय र क्षेत्र अनुसार तालिम प्रदान गरिएको शिक्षा शाखाका प्रमुख भुमबहादुर घर्ती मगरले बताए ।

त्यस्तै यो वर्ष विद्यालय समायोजन र दरबन्दी मिलान गरेर गाउँपालिकाकाले महत्त्वपूर्ण खुड्किला पार गरेको उपाध्यक्ष उपेन्द्र अर्यालको दावी छ ।

पालिका भित्रका २० वटा विद्यालयमा एकर एक तह घटाईएको छ । विद्यार्थी सङ्ख्याका आधारमा कक्षा घटाइएको सहायक शिक्षा शाखा प्रमुख सुरज जिसीले बताए । त्यस्तै कक्षा घटुवा हुँदा आएका ८ वटा दरबन्दीलाई आवश्यक विद्यालयमा पुर्ती गरिएको गाउँपालिकाले जनाएको छ ।

कक्षा एक देखि तीन सम्म एकीकृत पाठ्यक्रम मुल्यांकन प्रणाली लागू गर्ने ,कक्षा पाँचको परिक्षालाई पालिका स्तरीय बनाउनुका साथै कक्षा पाँच र आठको नतिजा अनुसार विद्यालयलाई पुरस्कृत र दण्डीतको प्रावधानको व्यवस्था समेत गाउँपालिकाले गरेको छ ।

यसका साथै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ,विद्यालयका प्रधानाध्यापक र गाउँपालिका बीच कार्य सम्पादन सम्झौता गरिएको प्रमुख प्रशासकीय अधिकृत विकास खनालले बताए ।

विद्यालय भित्र राजनीतिक कार्यक्रम तथा क्रियाकलापलाई पुर्ण रुपमा बन्देज गरिएको छ । नतिजाको जिम्मेवार हुने गरि विद्यालयमा तहगत इन्चार्ज र अनुशासन इन्चार्ज तोकिएको छ ।

महिनाको एक पटक अनिवार्य रुपमा विद्यालय व्यवस्थापन समितिको बैठक बस्नु पर्ने ,विद्यालयको व्यवस्थापकीय क्षेत्र र शैक्षिक गुणस्तरको बारेमा समय समयमा पालिकामा प्रतिवेदन बुझाउनु पर्ने व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ।

५० प्रतिशत व्यवस्थापन र ५० प्रतिशत शैक्षिक गुणस्तरका आधारमा विद्यालयको मुल्यांकन गरि पहिलो हुनेलाई सम्मान र अन्तिम हुनेलाई कारबाही गर्ने मापदण्ड समेत गाउँपालिकाले बनाएको प्रमुख प्रशासकीय अधिकृत खनालले बताए ।

SHARE