रामपुरमा ६६ औँ राष्ट्रिय सहकारी दिवस मनाइयो

0
157

सुशीला रेग्मी

चैत २०,२०७९ पाल्पाः ६६ औ राष्ट्रिय सहकारी दिवस पाल्पाको रामपुरमा मनाइएको छ । रामपुर नगरपालिकाको आर्थिक सहयोगमा रामपुरभित्र रहेका २३ वटा सहकारीले सामुहिक रुपमा सहकारी दिवस मनाएका छन् ।

अन्धकारमुक्ति वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सागरप्रसाद देवकोटाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा रहनुभएको हो । नगर प्रमुख थापाले सहकार्य र समन्वय गरेर अगाडी बढ्ने बताउनुहुदै नगरपालिकाले सहकारीको हकहितमा सहयोग गर्ने बताउनुभएको छ । बजार क्षेत्रका केही सहकारीको गतिबिधिले सहकारीमाथी प्रश्न उठाएपछि ग्रामीण क्षेत्रमा संचालन भएका सहकारीले महत्वपूर्ण भूमिका खेलेको नगर प्रमुख थापाले बताउनुभयो ।

रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले सहकारीहरुले नाम अनुसारको काम गर्नुपर्ने, वचत र ऋणको मात्रै कारोबार मात्रै नभई सेयर सदस्यको हितमा काम गर्नुपर्ने बताउनुभएको छ । रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले सहकारीले गुणस्तरीय काम गर्नुपर्ने बताउनुहुदै सेयर सदस्यको रकमको सुरक्षा गर्नुपर्नेमा जोड दिनुभएको छ ।

कार्यक्रममा नेपाली कांग्रेस रामपुर नगर सभापति नेत्रप्रसाद भट्टराई, नेकपा एमाले नगर कमिटी अध्यक्ष विष्णुप्रसाद रेग्मी, रामपुर नगरपालिका वडा नं ५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेल, नेकपा माओवादी केन्द्रका कमलराज भट्टराई, नेकपा समाजवादी रामपुरका अध्यक्ष फणेश्वर गौतम, राष्ट्रिय जनमोर्चाका नगर सचिव रामप्रसाद गैरे, जिल्ला सहकारी संघका सदस्यहरु कृष्णकुमार अर्याल, ईश्वरी खनाल, सुर्याेदय कृषि सहकारी संस्थाका अध्यक्ष बुद्धिराज गौतम, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकाल लगायतले बोल्नुहुदै कार्यक्रम सफलताको शुभकामना दिनुभएको छ ।

कार्यक्रम सुरु हुनुअघि रामपुर बेझाड नहर अफिसबाट सहकारी सम्बन्धी लेखिएका प्लेकार्ड सहित कार्यक्रमस्थल होटल न्यु श्रीनगरसम्म विभिन्न सहकारीको ¥याली निकालिएको कार्यक्रमको सहजिकरण नेपाल वचत तथा ऋण सहकारी संघ केन्द्रिय कार्यालय (नेफ्स्कुन) का बरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश ढकालले गर्नुभएको हो ।

उज्यालो वचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष विष्णुमाया ढकालले स्वागत गर्नुभएको कार्यक्रमको संचालन रामपुर वचत तथा ऋण सहकारी संस्थाका सचिव किर्तिनाथ श्रेष्ठले गर्नुभएको हो । हातेमालो वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विष्णु सारुले दिनुभएको थियो ।

SHARE